४ कार्तिक २०८३, बुधबार

नेपाली सुर सम्झाउने एउटी सुन्दर पाकिस्तानी गायिका

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।

गाजलु ति ठूला–ठूला आँखा तिर बनी बसे यो दिलैमा
कालो लामो परेली केश, छाल परे कलिलो मायामा

जब पाकिस्तानी गायिका सारा रजा खानको माधुर्य स्वर उनको सुन्दर अनुहारको भावसँग मञ्चबाट खस्यो, याक एन्ड यती होटलमा तालिको गडगडाहट भयो । उपराष्ट्रपति नन्दबहादुर पुनको अनुहारमा फरक झलक आयो । साराको स्वरले गुलाम अलीको न्यास्रोमात्र मेटाएन, राजा महेन्द्रको स्मरणलाई अदभूत गरिदियो । यसकारण पनि रजाको स्वरमै त्यो जादू भेटियो जहाँ महेन्द्रका शब्दहरू नेपाल–पाकिस्तानको सम्बन्धको प्रेमराग पनि छरिरहेको थियो ।

‘निधारको त्यो रातो टिका, छाप बनी बस्यो दिलैमा
झल्केको त्यो नाकको फूली ज्योती बनी बस्यो कलिलो मायामा’

भन्दै रजाले जब गीतको गतिलाई अझ तेज बनाइन् अनि पाकिस्तानी दूतावासले गरेको कार्यक्रममा अतिथि बनेर गएका धेरैको मनमा महेन्द्रको स्मरण पुन:ताजगी गराइरहेको थियो । पाकिस्तान ७८ औं राष्ट्रिय दिवस मनाइरहेको थियो तर महेन्द्रको यौवन नेपाली आँखामा प्रष्ट छचल्किएको देखिन्थ्यो ।

सुफी संगीतको पृष्ठभूमीबाट उठेकी सारा अहिले भारत र पाकिस्तानमा चलेकी गायिका हुन् । सन् २००९ मा उनको स्वरले भारतीय संगीतबजारमा तहल्का ल्याएको थियो । भारत र पाकिस्तानमा भौतिक सीमा र कठोर सम्बन्ध भएपनि संगीतका लागि भने कुनै लगाम छैन । ‘संगितमा लगाम हुँदैन यसकारण भारतमा मैले जुन मौका पाएँ त्यसैले दिएको श्रेयका आधारमा नेपाली भुमिमा आएर गाउने मौका मिल्यो’, उनले भनिन् ।

सारा काठमाडौंको क्षेत्रपाटिस्थित होटल रोयल पेनगुइन्मा बसेकी थिइन् । उनले यसो पनि भनिन्,‘नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ प्रगाढ रहेको सन्देश संगीतले दिनेछ ।

नेपालको कुनै न कुनै किसिमको सम्बन्ध पाकिस्तानसँग बाँधिएको छ । एउटा सार्क राष्ट्र सदस्य, छिमेकी र अर्को संगीतबजार पनि । गुलाम अलीलाई नेपाली गीतका लागि प्रोत्साहन दिने त्यसबेलाको दरबारको भावना पाकिस्तानसँगको सम्बन्धको बलियो आधारविन्दु थियो । यो शेषको सम्बन्धले मात्र होइन । सारालाई लाग्छ, संगितको कुनै भाषा हुँदैन । यसको आयाम हुन्छ । शान्ति प्रेमीहरूको सम्बन्ध बलियो हुनुपर्छ । उनले इतिहासलाई उदाहरण दिएर नेपालसँगको सम्बन्धलाई थप पुष्टि गर्नका लागि भनिन्,‘जब हामी मुगल एरा भित्र थियौं हामी सबै एउटै ठाउँभित्र थियौं । त्यसपछि हामी छुट्टियौं । सम्बन्ध त छ नि !’

उनले नेपालसँगको सम्बन्धको आयाम फरक भएपनि भारतसँगको चिसो राजनीतिक सम्बन्धलाई सुधार्न सके विश्वमा बलियो हुनसक्ने अपेक्षा पनि राखिन् । तर यो कसरी सम्भव छ भन्नेमा पनि उनको तर्क छ, ‘संगित र संस्कृती सबैभन्दा शक्तिशाली हुन्छ । किनकी त्यहाँ प्रेम हुन्छ । यसैको माध्यमबाट हामी यस किसिमका समस्या सजिलै हल गर्न सक्छौं ।’

उनमा यस्ता भावनाहरू धेरै छन् । यसको व्याख्या गर्ने सीमित समय मात्र थियो । उनको तत्कालिन उद्देश्य नेपालसँगको सांगितीक नाता जोड्नु थियो । त्यसैले दुई गीता टुक्रा गाएर सुनाइन् ।

रेशम फिरीरी, रेशम फिरीरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ….

नेपाली गीत र संगीतको विश्वबजारमा उनले धेरै हेरिएको र सुनिएका नेपाली भावनालाई पोल्टामा राखेकी रहिछन् । जाँदाजाँदै उनले ‘कुटुमा कुटु सुपारी दाना’का दुई हरफ गाउन पनि भुलिनन् । सारा यसबेला पाकिस्तान पुगिसकेकी छन् । तर, उनलाई नेपालले गरेको स्वागतको चटक्क माया मारेकी छैनन्, र त सामाजिक सञ्जालमा नेपाललाई सम्बोधन गरेरै धन्यावाद दिएकी छन् ।