३ कार्तिक २०८३, मंगलबार

होला त ओलीको भारत भ्रमण अघि एमाले र माओवादीको एकता ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, १२ चैत । विगत सात महिनादेखि एकताको अभ्यासमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता मिति अझै तय भएको छैन । एउटै घोषणापत्रमा निर्वाचनमा होमिएका एमाले–माओवादीले निर्वाचपछि सहमतिमै राजकीय पद बाँडफाँड गरे । यी दुई दल अहिले एकताको अन्तिम घडीमा छन् । राजनीतिक, वैचारिक र सांगठनिक कुरामा सहमति जुटेपछि मिति त्यति महत्वपूर्ण विषय होइन तरपनि, दुईथरी मितिको चर्चा चल्दा आम कार्यकर्ता र शुभेच्छुक समेत अन्योलमा परेका छन् ।

यसअघि दुवै पार्टीका दोस्रो तहका नेताहरुले आउँदो बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकता हुने बताएका थिए । तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै एकता गर्ने चर्चा शुरु भएको छ । माओवादी हेडक्वार्टर बैठकले समेत प्रधानमन्त्रीको भ्रमणअघि एकता हुनुपर्ने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले चैत अन्तिम साता आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु गर्दैछन् । त्यसअघि चैत २२ गते नै पार्टी एकता हुनसक्ने नेताहरुले जनाउ दिएका छन् । ओली स्वमय् पनि भ्रमण अघि नै एकता होस् भन्ने चाहान्छन् । किनकी उनी दक्षिण एशियाकै शक्तिशाली पार्टी अध्यक्षको रुपमा भारत भ्रमण गरेर एकताको सन्देश दिन चाहान्छन् ।

सोमबार मात्रै एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलको बैठक बस्यो । बैठकले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने सहमति जुटाएको छ । त्यसका लागि मंगलबार पनि छलफल हुँदैछ । जतिसक्यो छिटो एकता गर्ने तयारी भएको जानकारी दिदै एमाले नेता सुरेन्द्र पाण्डेले मिति भने यकिन भइनसकेको जनाए । कार्यदलमा विस्तृत छलफल गरेपछि एकता संयोजन समितिले मिति तय गर्ने उनले बताए ।

नेताहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमण र पार्टी एकतालाई जोडेर भने हेर्न नमिल्ने बताएका छन् । एकताका लागि लामो समयदेखि काम भइरहेको, कार्यदलहरुले आ–आफ्नो काम गरिरहेकाले कार्यदलको काम सकिने बित्तिकै एकता हुने नेताहरुको भनाई छ । सकेसम्म प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकता गर्ने पक्षमा नेताहरु छन् ।

मस्यौदा समितिले पार्टीको भावी कार्यदिशा, एकीकृत पार्टीको क्रान्तिको चरित्र, सामाजिक परिवर्तन कस्तो रहने, कम्युनिस्ट आन्दोलनको दिशा, देशका समग्र पार्टीको विश्लेषण र पार्टी संगठनको संरचनाबारे प्रतिवेदन तयार पार्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण र पार्टी एकतामा कुनै साइनो सम्बन्ध छैन । पार्टी एकता चाँडो गरौँ भन्ने मात्रै हो र यो संयोग मात्रै हुनेछ’ नेता श्रेष्ठले भने ।

एमाले नेता सुवास नेम्वाङले पनि प्रधानमन्त्रीको भ्रमण र पार्टी एकता विलकूल अलग विषय भएकाले यसलाई जोडेर हेर्नै नमिल्ने बताए । कार्यदल बैठकमा पनि एकतालाई भारत भ्रमणसँग जाडेर छलफल नभएको नेम्वाङले बताए ।

पार्टी एकताका लागि एमाले नेता माधवकुमार नेपाल संयोजक राजनीतिक प्रतिवेदन मस्यौदा समिति, माओवादी नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक रहेको विधान तथा सांगठनिक मस्यौदा समितिले प्रतिवेदनाई अन्तिम रुप दिने तयारी गरेका छन् ।

यसअघि फागुन २५ गतेसम्मको डेडलाइन पाएका कार्यदलले समय थप गरेका थिए । यदि, अबको एकहप्ताभित्र कार्यदलले काम सके प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुने सम्भावना प्रवल छ ।