काठमाडौं, ९ चैत । विद्यार्थीको हकहित, अधिकार र भरपर्दो शिक्षाका लागि संघर्ष गर्ने संगठनमै आवद्ध जिम्मेवार विद्यार्थी नेताहरू नै नक्कली सर्टि्फिकेटको धन्दामा संलग्न देखिएका छन् ।
अमेरिकाको इलेक्ट्रोनिक्स डाइभर्सिटी भिषा (इडीभी) प्रक्रियाका लागि बनाइएको नक्कली प्रमाणपत्र प्रक्रियामा संलग्न केही विद्यार्थी नेतालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले पक्राउ गरेको छ ।

अमेरिकन राजदूतावासमा बुझाइएको उच्च माध्यमिक (प्लस टु)को प्रमाणपत्रमा दूतावासले शंका गरेपछि सीआइबीले नक्कली प्रमाणपत्र पेस गर्ने रूपन्देही देवदह नपा–९ का २० वर्षिय निरज सुनार, प्रमाणपत्र बनाउनमा संलग्न भएका कपिलबस्तु बाँणगंगा नपा–७ घर भएका हाल मैतीदेवी बस्ने २४ वर्षिय विकास बेलवासे र कैलालीको घोडाघोडी नपा–२ का २५ वर्षिय यसमान बिस्टलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उल्लेख गरेको छ ।
यसैबीच, नक्कली प्रमाणपत्र काण्डमा नेपाल विद्यार्थी संघकै सह– महामन्त्री प्रेम जोशीको संलग्नता भएको आरोप लाग्न थालेको छ । नेवि संघका केन्द्रीय सदस्य वीरेन्द्र गिरिले फेसबुकमा यस्तो अभियोग लगाएका हुन् ।
जितेन्द्र श्रेष्ठ सिमोनले सह–महामन्त्रीको उक्त कार्य प्रति तीब्र व्यंग्य गर्दै भनेका छन्, ‘गौरवशाली नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री तथा मेरा स्नातक तह अध्ययनका सहपाठी, अनन्य मित्र प्रेम जोशीज्यूको बारेमा निकै राम्रो समाचार सुन्न पाइएकोमा साह्रै गौरवान्तिव महसुस गरेको छु । किर्ते शैक्षिक प्रमाणपत्र लगायत कागजातहरू कारोबारमा संलग्न मै तमाम निमुखा अनपढ पीडित नेपालीलाई शैक्षिक प्रमाणपत्रको उज्यालो छर्न सफल हुनुभएकोमा धन्यवाद…।’
यसबारे सहमहान्त्री जोशीलगायत नेविसंघका जिम्मेवार पदाधिकारीबाट भने कुनै प्रतिक्रिया आएको छैन । जोशीलाई सीआइबीले खोजी गरिरहेको बुझिएको छ । केही दिन अघिमात्रै नेविसंघमा चन्दाबारे विवाद बल्झिएको थियो ।















प्रतिक्रिया