१ कार्तिक २०८३, आइतबार

बेलायतका नर्सहरूको तलब बढ्दै, नेपालीहरूले पनि लाभ पाउने

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ चैत । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत नर्सहरूको तलब उल्लेख्य रूपमा बढ्ने भएको छ । सरकारले सरोकारवाला कर्मचारी युनियनहरूसँगको लामो छलफलपछि स्वास्थ्यसेवामा कार्यरत डाक्टरबाहेकका कामदारको तलब बढाउने प्रस्ताव गरेको हो । सन् २०१० देखि स्वास्थ्यकर्मीको तलब बढ्न सकेको थिएन ।

आगामी तीन वर्षमा यस्तो वृद्धि कम्तिमा ६.५५ देखि बढीमा २९ प्रतिशतसम्म हुनेछ । अब नर्सको प्रारम्भिक तलब २२१२८ पाउण्डबाट बढेर यही अप्रिल १ बाट २४९०७ पाउण्ड हुनेछ । तीन वर्षभित्रै प्रारम्भिक तलब २६९७० पुग्नेछ । यो २२ प्रतिशत वृद्धि हो । नयाँ तलबमानबाट नेपाली नर्सहरूलाई लाभ पुग्ने बताइएको छ ।

तीन वर्षभन्दा बढ़ी अनुभव भएका नर्सले झन्डै ३० हजार पाउण्ड तलब पाउनेछन् । हालका लागि इंगल्याण्डमा मात्रै यस्तो प्रस्ताव गरिएको छ । ब्याण्ड १ या २ मा रहेकाहरूको तलब यसै वर्ष २००० भन्दा बढ़ीले बढेर १५ हजारबाट १७ हजार पुग्नेछ ।

तलब बाहेकका अन्य सुविधा भने यथावत राखिएका छन् । यसअघि रात्रि र वीकेंड भत्ता हटाइने उव कि भन्ने डर थियो ।

‘एजेन्डा फर चेन्ज’ शीर्षकभित्र १ देखि ९ ब्याण्डसम्म रहेका क्लिनरदेखि पोर्टर, फिजियोथेरापिस्ट र नर्स गरी झन्डै १३ लाख कामदारहरू राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत छन् । यसभित्र डाक्टर र डेन्टिस्ट तथा माथिल्लो तहका म्यानेजरहरू पर्दैनन् । उनीहरूलाई अलग्गै ग्रुपमा राखिएको छ ।

यो प्रस्तावलाई आगामी जुलाइमा भोटिंगका निम्ति राखिनेछ र स्वास्थ्यकर्मीहरूले प्रस्तावको पक्षमा भोट दिएमा यो तलबबृद्धि ‘ब्याक डेटेड’ भएर अप्रिलदेखि नै लागू हुनेछ । १३ कर्मचारी युनियनमध्ये १२ वटा यूनियनको समर्थन रहेकाले यो प्रस्ताव पास हुने अनुमान छ । यो तलब बृद्धिले सरकारलाई तत्काल ४।२ बिलियन पाउण्डको भार थपिनेछ ।

यो तलब बृद्धिका लागि यसअघि हल्ला गरिएजस्तो वार्षिक बिदा कटौती त हुने छैन तर आकस्मिक “सिक लिभ” अर्थात बिरामी बिदालाई न्यूनीकरण गर्न लागिपर्ने आश्वासन यूनियनहरूले दिएका छन् ।

झन्डै ४० हजार पद रिक्त रहेको स्वास्थ्यसेवामा निम्न तलबमा धेरै काम गर्नुपरेको भन्दै कामदारहरूले अत्यधिक बिरामी बिदा लिने गरेका छन् । तलब बृद्धिपछि यो क्षेत्र आकर्षक बन्ने र पदपूर्ति सजिलै हुने विश्वास छ । त्यसो भएमा कामदारमा कामप्रति लगाव बढ्ने र बिरामी बिदा कम हुने तर्क छ । – एजेन्सी