काठमाडौं, ७ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले झोलामा खोला बोकेर हिड्नेहरूविरुद्ध कठोर कदम चाल्ने बताएका छन् । उनले विजुलीमा मुलुक आत्मनिर्भर हुन लाइसेन्स ओगटेर बस्ने विरुद्ध कडा कदम चाल्ने बताउँदै परियोजना सम्पन्न गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्न तयार भएको बताए ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले भने, ‘झोलामा खोला बोकेर हिड्नेहरूविरुद्ध कठोर कदम चाल्छु । अधुरा परियोजना सम्पन्न गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्न सकरात्मक छु ।’ पुराना अड्किएका काम अगाडि बढाउने आफ्नो पहिलो प्राथमिकता भएको र सोही अनुसार काम गर्ने उनले प्रतिवद्धता जनाए ।
मन्त्री पुनले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत आवश्यक पर्ने र त्यसै अनुसार काम गर्ने प्रतिवद्धता जनाए । उनले अगामी वर्षदेखि भारतको भर नपरी आफ्नै उत्पादनले धान्ने गरी काम गर्ने पनि बताए । मन्त्री पुनले बिद्युत उत्पादन बढाई इन्धन आयात प्रतिस्थापन गर्ने रणनीति लिने बताए ।
‘आगमी १० बर्षमा नेपालमा ऊर्जाको माग १० हजार मेगावाट नै हुन्छ । त्यसैले हामी उर्जामा कम्तिमा आत्मनिर्भर हुनुपर्दछ । अधिकतम रुपमा हामीले १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्ने भनेका छौं ।’ उनले भने, ‘आन्तरिक खपतबाट बचेको बिजुली छिमेकी देशहरूलाई बेच्न सकिन्छ ।’
मन्त्री पुनले दोहोरो अंकको आर्थिक बृद्धि र नेपालको समृद्धिका लागि महत्वपूर्ण टेवा दिने ऊर्जा र सिंचाईको क्षेत्रले भएकाले त्यो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको स्पस्ट पारे ।
मन्त्री पुनले स्थायी रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार दिउंसो सिँचाइ विभागमा अन्तरक्रियापछि सम्बोधन गर्दै उनले मुलुकमा संक्रमणकालीन अवस्थाको अन्त्य भएर स्थायी सरकार आएको बताउँदै यही सरकारले जनताको विकाश र समृद्धिको अपेक्षा पुरा गर्ने बताए ।
माओवादी केन्द्रका वरिष्ट नेता समेत रहेका नेता पुनले सिँचाइ क्षेत्रमा रहेको पुरानो प्रविधिको अन्त्य गरि नयाँ नयाँ प्रविधि भित्राउनुपर्ने बताए ।
मन्त्री पुनले दलालको स्वार्थभन्दा सेवाग्राहीको हितमा काम गर्न भन्दै काममा पारदर्शी र जिम्मेवार भएर परिणाम निक्लने गरी काममा लाग्न पनि कर्मचारीलाई निर्देशन दिए ।















प्रतिक्रिया