
काठमाडौं, १ पुस । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले आजबाट लागू गरेको दुई सिफ्ट प्रणालीको कार्यालय सेवामा कर्मचारीले कुनै ढिलासुस्ती गरे कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले सिफ्ट अनुसार काम नगर्ने कर्मचारीप्रति कडा निगरानी अपनाइने चेतावनी दिएका हुन् । उनले भने– ‘सेवाग्राहीहरु मारमा परेकाले सरकारले दुई सिफ्ट सेवा सुचारु गरेको हो, त्यसैले कर्मचारीले पनि प्रभावकारी रुपमा काम कारवाही अघि बढाउुनपर्छ ।’
उनले कार्यालयमा भीडभाड हुँदा भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टाचार न्यूनीकरण गर्न पनि सरकारले उक्त सेवा सुरु गरेको स्पष्ट पारे ।
साक्षात्कारमा उनले सरकारले मंगलबार विहान ६ बजेदेखि लागू हुने गरी पाँच विकास क्षेत्रका पाँचवटा जिल्लामा अत्याधिक चाप हुने कार्यालयहरुबाट दुई सिफ्टमा सेवा सुरु गरेको जानकारी दिएकाछन् ।
मन्त्री पण्डितले सरकारले अत्याधिक चाप रहेको स्थानमा मात्रै सरकारले उक्त सेवा सुरु गरेको पनि जानकारी दिएका छन् । उनका अनुसार मंगलबारदेखि दैनिक १२ घण्टा कार्यालय सञ्चालन हुने गरी दुई सिफ्टमा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सेवाग्राहीहरुलाई सेवा दिइनेछ ।
जिल्ला प्रशासन कार्यालयको राहदानी र नागरिकता फाँट र त्यसैगरी नापी, मालपोत, यातायात, खानेपानी, विद्युत, टेलिफोन जस्ता बढी भीड हुने कार्यालयहरुमा यसरी सेवा सुचारु गरेको मन्त्री पण्डितले बताए । उनले भने– ‘जिल्ला प्रशासन कार्यालयको नागरिकता र राहदानी फाँट मात्रै सुरु हुन्छ, मालपोत, नापी, विद्युत महशुल, खानेपानी महशुल, टेलिफोन महशुल, चालक अनुमतिपत्र, वैदेशिक रोजगार र श्रम अनुमतिपत्र जस्ता ठाउँहरुमा अहिले सेवा सुरु गरेका छौं ।’
यसरी सेवा सुचारु गर्न कर्मचारीको अभाव भएको जानकारी आएमा मन्त्रालयले थप कर्मचारीको व्यवस्था गर्ने पनि उनले बताए । यद्दपी मन्त्री पण्डितले कर्मचारीले प्रभावकारी रुपमा काम कारवाही गर्ने वा नगर्नेवारे बुझ्न पनि उनीहरुमाथि कडा निगरानी राखिने बताए ।
उनले भने– ‘सेवाग्राहीहरुका लागि छिटो छरितो रुपमा काम नगर्नेहरुको काम छैन, त्यसको व्यवस्थापन अलग्गै हुन्छ, काम गर्दिन भन्न कसैले पाउँदैन, आफ्नो सुविधामा मात्र ध्यान दिनेहरुले जनताको सेवा सुविधातर्फ पहिला ध्यान दिनुपर्छ । ’’
सरकारको उक्त निर्णयलाई बाधाअवरोध पुर्याउने जो कोहीलाई पनि आफूले कारबाही गर्ने उद्घोष गर्दै मन्त्री पण्डितले यसवारेमा सामान्य प्रशासन मन्त्रालयले कडा रुपमा अनुगम नगर्ने पनि चेतावनी दिए । ‘जनताको सेवाका लागि सुचारु गरिएको यो दुई सिफ्ट कार्यालय सेवा प्रणाली लागू गर्न सबैले सहयोग पु¥याउनुपर्छ ।’ उनले थपे ।
मन्त्री पण्डितले मालपोत र नापी कार्यालयलाई दुई सिफ्टमा सञ्चालनका लागि अन्य ६ वटा जिल्लाहरु सुनसरी, धनुषा, चितवन, पाल्पा, कास्की र बर्दियामा पनि आजैबाट सम्बन्धित निकायका प्रमुखहरुबाट सेवा सुचारु भएकोे बताए ।
यसैगरि मन्त्री पण्डितले आवश्यक ठाउँमा पुनः सरकारले थप सेवा विस्तार गर्ने पनि प्रतिबद्धता दोहोर्याए ।
‘‘भरत सुवेदीलाई कारवाही गरेरै छोड्छु’’
डीभी, पीआर र ग्रिनकार्डधारी कर्मचारीलाई कारबाही गर्ने अभियान चलाएका मन्त्री पण्डितको निर्णयलाई लत्याएर आफूखुसी सरुवा मिलाएर हाल राजश्व अनुसन्धान विभागकाउप–महानिर्देशक रहेका भरत सुवेदीको सरुवा श्रममन्त्रालयमा भएको उल्लेख गर्दै क्याविनेटको निर्णयको विरुद्धमा सुवेदी हिँडेकाले उनलाई जसरी भए पनि कारबाही गरेरै छाड्ने मन्त्री पण्डितले चेतावनी दिएका छन् ।
डिभी, पीआर र ग्रिनकार्ड बोक्ने कर्मचारीलाई कारवाही गर्नका लागि विशेष प्रक्रिया समेत सुरु गरेको बताउँदै आफूले संसदमा विद्येयक पठाइसकेको जानकारी दिँदै संसदबाट ऐन जारी भए लगत्तै सबैलाई कारबाही गर्ने स्पष्ट पारे ।















प्रतिक्रिया