३ कार्तिक २०८३, मंगलबार

जब बहालवाला एआईजीका छोरा नै प्रहरीमाथि जाइलागे..

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ चैत । नेपाल प्रहरीका बहलावाला अतिरिक्त महानिरीक्षक (एआईजी) कमलसिंह बमका छोरा सुगम बमले प्रहरीलाई दुव्र्यवहार गरेका छन् । ‘गुड फ्राइडे’ मनाउन साथीहरुसँग ठमेल पुगेका सुगमले शुक्रबार राति १ बजे प्रहरीलाई थर्काउँदै हातपात गरेको घटना सार्वजनिक भएको छ । प्रहरीमाथि कुटपिट गर्ने सुगम आमाको रोहबरमा छुटिसकेका छन् ।

ठमेल, सोह्रखुट्टे क्षेत्रमा तेस्रोलिङ्गी समूहले लुटपाट मच्चाएको गुनासो बढेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली शुक्रबार राती ‘अप्रेशन’मा गएको थियो । पछिल्लो समय प्रहरीले त्यो क्षेत्रमा निगरानी बढाएको छ । दरबारमार्ग प्रहरी स्रोतका अनुसार शुक्रबार राती दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति ठमेल पुगेको थियो ।

प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति १ बजेतिर सुगमसहित ६/७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । ‘लामै विवाद भएपछि हाम्रो केटाले ट्याक्सी आफूहरुका लागि राखिएको बताएको थियो’, प्रहरी उच्च स्रोतले भन्यो, ‘तर, प्रहरीले त्यति भन्नासाथ ऊ (सुगम) झन् चर्कियो । सम्झाउन खोज्दा हामीमाथि नै जाइलाग्यो ।’

उनले आफू एआईजीको छोरा भएको र ‘तिमीहरु जस्ता ५ जना जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भनेर प्रहरीलाई थर्काएको स्रोतले जनाएको छ । । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरि दरबारमार्ग वृत्तमा पुर्‍याएर रातभर राखेको थियो । बमलाई गाडीमा चढाउन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो । कमलसिंह बम प्रदेश ४ का प्रहरी प्रमुख हुन् । सुगम उनका जेठा छोरा हुन् ।

सुगमकी आमा शनिबार बिहानै आमा प्रहरी वृत्त दरबारमार्ग पुगेर चाहिएको बेला उपस्थित गराउने गरी उनलाई लिएर गइन् । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै छानबिनाका लागि प्रहरीको उजुरी छानबिन शाखामा उजुरी नै दिएका छन् । घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रामकृपाल शाहको संयोजकत्वमा समिति गठन गरेको छ ।

‘हामीमाथि नै दुर्व्यवहार भयो, हामीले एकरात राखेका हौँ, बिहान आमाको रोहबरमा छोडिसकेका थियौँ’, दरबारमार्ग प्रहरी स्रोतले भन्यो, ‘उसले उल्टो हाम्रैविरुद्ध उजुरी गरेछ । उसको बुवा हाम्रो संगठनको उच्च तहमा हुनुहुन्छ भन्दैमा उसले गरेका गल्तीमा छुटकारा दिन सकिदैन ।’