काठमाडौँ, ५ चैत । क्रिष्टियाना रोनाल्डोको चार गोलसँगै ला लिगाको आइतबार राति भएको खेलमा रियल म्याड्रिडले जिरोनाविरुद्ध सहज जित निकालेको छ । रियलले जिरोनालाई ६–३ को गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ह्याट्रिकसहित व्यक्तिगत चार गोल गरे । उनले खेलको ११ औँ, ४७ औँ, ६४ औँ र अतिरिक्त समयमा गरी चार गोल गरेका हुन् । त्यस्तै लुकास भास्क्वेज ५९ औँ मिनेटमा तथा ग्यारेथ बेलले ८६ औँ मिनेटमा गोल गरे ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै तर्फबाट गरी सात गोल भएको थियो । जिरोनाका लागि क्रिस्टियन स्टुवानीले दुई (२९ औँ र ६७ औँ मिनेटमा) तथा जुआन्पेले एक गोल (८८ औँ मिनेटमा) गरे ।
जितसँगै रियलले २९ खेलबाट ६० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७५ र दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडको ६४ अंक रहेको छ ।















प्रतिक्रिया