७ कार्तिक २०८३, शनिबार

इलाममा विद्यालयको जग्गामा सुकुम्बासी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ilam
इलाम, १ पुस । इलाम सदरमुकामस्थित आदर्श उच्चमाध्यमिक विद्यालयको जग्गा वर्षांैदेखि सुकुम्बासीले उपभोग गर्दै आएका छन् ।

विद्यालयको नाममा झापामा रहेको साढे १२ बिघा जग्गा सुकुम्बासीले अतिक्रमण गरेर बसिरहेका हुन् ।

झापाको शनिअर्जुन नगरपालिकामा रहेको साढे १२ बिघा जग्गामा ३५ घरभन्दा बढी सुकुम्बासी परिवार बस्दै आएका हुन् ।

उनीहरूलाई हटाएर विद्यालयले भाँडामा लगाउन खोज्दा पनि उल्टै मुद्दा खेप्नु परेको विद्यालयका पूर्वप्रधानाध्यापक धनराज राई बताउनुहुन्छ ।

झापाको सप्तश्री बहुद्देश्यीय प्राविधिक शिक्षालयलाई जग्गा लिजमा दिन लाग्दा सुकुम्बासी र केही व्यक्तिले मुद्दा हालेको विद्यालयले जनाएको छ ।

“अतिक्रमित जग्गाबाट सुकुम्बासीलाई हटाउन खोज्दा आफैँले मुद्दा खेप्नुप¥यो”–पूर्वप्रधानाध्यापक राईले भन्नुभयो–“सुकुम्बासीबाट हटाएर विद्यालयले लिजमा दिन खोज्दा पनि सकेन ।”

विद्यालयलाई लागेको मुद्दा खेप्न वकिल राख्दा नै करिब चार बिघाभन्दा बढी जग्गा छाड्नु परेको राईले बताउनुभयो ।

यस्तै इलाममा रहेको ६८ रोपनीमध्ये २० रोपनीको कूत वर्षाैंदेखि वार्षिक रु पाँच हजार छ ।

नगरपालिका क्षेत्रमा रहेको जग्गामा अहिलेको चलनचल्तीको भाउमा पनि लिजमा दिँदा त्यति जमिन वार्षिक रु पाँच लाखभन्दा पनि बढीमा भाडामा लाग्ने जानकारहरू बताउँछन् ।

नगरपालिका क्षेत्रकै जग्गामा विद्यालयले चासो नदिँदा अतिक्रमित बन्दै गएको छ ।

स्थानीय तुलसी श्रेष्ठलाई दुई दशकदेखि विद्यालयले वार्षिक रु पाँच हजारमा भाडामा दिएपछि अहिले जग्गा के कस्तो हुँदैछ, भनेर विद्यालयलाई चासै नभएकाले अतिक्रमणको चपेटामा पर्दै गएको स्थानीय बताउँछन् ।

“विद्यालयको धेरै जग्गा व्यक्तिले हड्पेका छन् । अब जग्गा विद्यालयले खोज्न थालेको छ”–शिक्षक हरिश्चन्द्र दाहालले भन्नुभयो ।

विद्यालयलाई दीर्घकालीन रूपमा आम्दानी होस् भन्ने उद्देश्यले उसबेला जग्गा खरिद गरिएको भए पनि अहिले जग्गा अतिक्रमणको चपेटामा पर्दा विद्यालयलाई आम्दानीभन्दा नोक्सानी हुँदै गएको छ ।

इलाम नगरपालिकामा रहेको पुरानो प्रज्ञासदन भएको जग्गाबाट मासिक रु १२ हजार आम्दानी हुँदै आएको छ ।

नगरपालिकालाई कृषि हाटबजारका लागि वार्षिक रु ५० हजार लिजमा केही जमिन दिएको छ । ६५ रोपनीमध्ये केहीमा विद्यालयकै छात्रावास छ भने केहीमा शैक्षिक तालिम केन्द्र रहेको छ ।

विसं २००४ जेठ १६ गते स्थापना भएको यो जिल्लाकै सबैभन्दा पुरानो विद्यालय हो ।

विद्यालयको जग्गा दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गए पनि विद्यालय व्यवस्थापन समितिलाई कुनै मतलब नभएको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने ।