सिरहा, २९ मंसिर । शिक्षा मन्त्री चित्रलेखा यादव निकट बताउने सिरहाको ब्रह्मान गोर्छाडीस्थित माध्यमिक विद्यालय हनुमाननगरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीलाई प्रधानाध्यापकले गोली हान्ने धम्की दिएका छन् ।
लहान नपा ९ स्थित प्राथमिक विद्यालय गोठका प्रधानाध्यापक करुण यादबले अध्यक्ष चौधरीलाई गोली हान्ने धम्की दिएका हुन् । प्रअ यादबले एनटिसीको ९८५२८३२८८३ नम्बरबाट फोन गरी मंसिर २३ गते साँझ धम्की दिएको अध्यक्ष चौधरीले बताए ।
पत्रकार सम्मेलन गरी धम्कीबारे जानकारी गराउँदै सुरक्षाको लागि पहल गरिदिन सञ्चारकर्मी र अधिकारकर्मीहरुसँग अध्यक्ष चौधरीले आग्रह गरे । उनले धम्की दिएको अडियो रेकर्ड समेत सुनाए । उक्त रेकर्डमा प्रअ यादबले जिल्ला शिक्षा अधिकारीलाई बेटा (छोरा) भनिएको छ भने अध्यक्ष चौधरीलाई गोली हान्ने धम्की दिएको प्रष्ट आवाज छ ।
धम्की दिनेलाई कारबाही गर्नुको साटो इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुयालले उजुरी समेत दर्ता नगरी बचाउ गरेको अध्यक्ष चौधरीले गुनासो गरे । उनले भने, ‘धम्की बारे इलाका प्रहरी कार्यालय लहानमा जानकारी गराएँ । डिएसपी ज्ञानेन्द्र फुयाँलले धम्की दिएको अडियो रेकर्ड सिडिमा राखेर उजुरी लिएर आउन भन्नुभयो । तर उजुरी लिएर जाँदा दर्ता नै गर्नुभएन् ।’
धम्की दिने प्रअ यादब नेपाली काँग्रेसका भातृ संगठन शिक्षक संघसँग आवद्ध छन् । शिक्षामन्त्री एवं काँग्रेस नेतृ चित्रलेखा यादबको नजिक भएका कारण उनले शिक्षामन्त्रीकै आडमा प्रधानाध्यापक यादबले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीलाई धम्की दिएका हुन् ।
स्रोतका अनुसार धम्की दिने प्रअ यादबलाई बचाउन शिक्षक संघका अध्यक्ष मनोज यादबले ईप्रका लहानका डिएसपी ज्ञानेन्द्र फुयाँललाई पटक पटक फोन गरी दबाब दिईरहेका छन् । अन्य काँग्रेसका नेताहरुसँग पनि दबाब दिलाउन सक्रिय छन् । सोही कारण उजुरी दर्ता हुन नसकेको स्रोतको दावी छ ।
धम्कीबारे जानकारी दिन विद्यालयमै गरेका पत्रकार सम्मेलनमा समेत संघका अध्यक्ष मनोज यादब र फोरम नेपालका भातृ संगठन शिक्षक फोरमका जिल्ला अध्यक्ष कासिन्द्र प्रसाद यादबको उपस्थिति थियो । पत्रकार सम्मेलन सकेर निस्कने बेलामा संघका अध्यक्ष मनोज यादबले भने, यदि धम्कीबारे उजुरी दर्ता भए हामी चुप लागेर बस्दैनौं । जिल्लाभरका विद्यालय बन्द गराएर आन्दोलन थाल्छौं ।
गोली हान्ने धम्की किन ?
ब्रह्मान गोर्छाडीस्थित माध्यमिक विद्यालय हनुमाननगरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरी भदौंमा चुनावबाट निर्वाचित भए । उनी अहिले विद्यालय सुधार गर्न कस्सिए लागेका छन् । जसले गर्दा उनलाई असफल पार्न शिक्षकहरु नै लागेका छन् ।
विद्यालयमा नियमित पठन–पाठन हुनुपर्ने र हरहिसाव सार्वजनिक गर्न विद्यालयका निमित्त प्रअ नारायण प्रसाद साहलाई पटक पटक आग्रह गरे । तर अहिलेसम्म हरहिसाव सार्वजनिक गरेका छैन् । त्यहाँ कार्यरत शिक्षकहरु विद्यालयमा पढाउन छाडेर लहानस्थि निजी क्याम्पसहरुमा काम गर्छन् । अन्य निजी विद्यालय र क्याम्पसमा काम गर्ने शिक्षकहरु काँग्रेसका भातृ संगठन शिक्षक संघबाट संरक्षण पाइरहेका छन् ।
अध्यक्ष चौधरीका अनुसार यस विद्यालयका शिक्षक फुलेश्वर महतो सुखिपुर क्याम्पस र लहानस्थित सलहेस क्याम्पसमा, शिक्षक रामु यादब लहानस्थित लिट्टिल स्टार हायर सेकेन्ड्री ईंगलिस स्कूलमा, शिक्षक हेमशंकर साह एलएमसी कलेज लहानमा पढाउँछन् भने रामविनय यादब लहानस्थित आफ्नै लोकसेवा आयोगको तयारीका लागि कोचिङ सेन्टर खोलेका छन् । विहारी साह विद्यालयको कक्षा कोठा विद्यालय व्यवस्थापन समितिको निर्णय विपरित ट्यूशन पढाउँछन् ।
उनले विद्यालयमा भवन निर्माण र छात्रबृति वितरणमा व्यापक भ्रष्टाचार गरेको बताए । उनले भने, ‘म अध्यक्षमा निर्वाचित हुंदा यहाँका प्रअ रामऔतार यादब हुनुहुथ्यो । तर उहाँसँग हिसाब माग्दा चोरबाटो भएर शिक्षा कार्यालयमा गई एक महिना अगाडी राजीनामा दिनुभयो ।’
अवकास प्राप्त हुँदा पनि निरन्तर १७ महिनासम्म राज्यको तलब सुविधा प्रअ यादबले लिएको र हिसाव माग्दा राजीनामा दिएको अध्यक्ष चौधरीले बताए । ‘उहाँ राजीनामा दिएपछि मलाई जानकारी समेत नगराई शिक्षक नारायण प्रसाद साहलाई निमित्तको जिम्मा दिनुभयो’, अध्यक्ष चौधरीले भने, ‘अहिलेका निमित्त प्रअ साह समेत वास्तै नगरी आफ्नै मनपरी गर्ने गरेको र धम्की दिन लगाउनुभयो ।’
















प्रतिक्रिया