
सर्लाही, २९ मंसिर । सर्लाहीको सदरमुकाम मलंगवास्थित नापी कार्यालयमा गत वर्ष भएको शक्तिशाली विष्फोटको घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले तीनजनालाई पक्राउ गरेको छ ।
रौतहट जिल्ला पिपरीया गाविस–९ घर भई हाल पिपरीया–५ बस्दै आएका ३५ वर्षीय पनिलाल पण्डित, पिपरीया–७ का २० वर्षीय कमलप्रसाद यादव र ३५ वर्षीय नरेश राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश बस्नेतले बताउनुभयो ।
अञ्चल प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको र चाँडै अभियुक्तहरुको तस्विरसहित सार्वजनिक गरिने प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
२०७० भदौ २८ गते नापी कार्यालयभित्र शक्तिशाली प्रेसर कुकर बम विष्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उक्त विष्फोटबाट नापी कार्यालयका अधिकृत नागेन्द्र राय यादव, लेखन्दास एवम् सेवाग्राहीसहित आठजना घाइते भएका थिए ।















प्रतिक्रिया