काठमाडौँ, २८ मंसिर । अर्थमन्त्री डा. रामशरण महतले भारतसँगको व्यापारघाटा करिब ४ अर्ब डलर अर्थात कुल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत पुगेको बताउनु भएको छ ।
भारतको महाराष्ट्रस्थित सिम्बोसिस इन्टरनेसनल युनिभर्सिटीद्वारा पुनेमा आयोजित इन्डियाज लुक इस्ट, एक्ट इस्ट पोलिसी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विशिष्ट वक्ताको रुपमा बोल्दै अर्थमन्त्री महतले भारतसँग नेपालको व्यापार घाटा नयाँ उचाईमा पुगेकाले त्यसलाई कम गर्न भारतको ठूलो सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले यति ठूलो व्यापारघाटा दिगो बन्न नसक्ने भन्दै निर्यातमा विविधिकरण गरी व्यापार घाटालाई घटाउन नेपाल तयार रहेको र यसमा भारतको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले भारत तथा पूर्वी एसियाली मुलुकहरुमा मध्यमवर्गको उदयले नेपालले पर्यटकीय सम्भावनाबाट फाइदा लिन सक्ने पनि दाबी गर्नुभयो ।
त्यसैगरी उहाँले भारतसँग नौ–नौ सय मेगावाट क्षमताका माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता ठूला विद्युत आयोजनाहरुको सञ्चालनका लागि विद्युत आयोजना विकास सम्झौता भएको, ६००० मेगावाट क्षमताको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको अवरुद्ध भएको काम अगाडि बढेको जस्ता कुराको स्मरण गराउँदै आगामी दश बर्षमा हालको भन्दा दशौँ गुणाले विद्युत उत्पादन हुने दाबी गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनको अर्थमन्त्री महत र भारतका यातायातमन्त्री नितिन गड्करीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंकाका मन्त्रीहरु तथा अन्य करिब ३५ मुलुकका कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।













प्रतिक्रिया