काठमाडौं, २६ फागुन । तेल बोक्ने ट्याङ्करका चालकले तेल चोरी गरेर हैरान बनाएपछि भारतीय आयल कर्पोरेसन (आइओसी)बाट तेल ओसार्ने ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान हुन लागेको छ ।
सो व्यवस्था आगामी ३० फागुनबाट औपचारिकता पाउन लागेको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले पहिलो चरणमा आइओसीको डिपोदेखि निगमको डिपोसम्म तेल ओसार्ने ट्यांकरमा आधुनिक लकिङ जडान गर्न लागिएको बताए ।
दोस्रो चरणमा निगमको डिपोदेखि पेट्रोलपम्पसम्म तेल ओसार्ने ट्यांकरमा लकिङ जडान गरिनेछ ।
आधुनिक लकिङ सिस्टमका लागि आइओसीले नै ताल्चा उपलब्ध गराएको हो । जसको मूल्य २५ हजार भारु पर्न आउँछ ।
आइओसीले यो ताल्चा निःशुल्क उपलब्ध गराएको प्रवक्ता गोइतले जानकारी दिए । देशभर करिब १ हजार ८ सय तेल बोक्ने ट्यांकर छन् ।
यिनीहरूले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गरिरहेका छन् । आइओसीले विभिन्न डिपोबाट तेल ओसार्न ट्यांकरको संख्या यकिन गरी अहिले ताल्चा खरिदका लागि भारतमा टेन्डर आह्वान गरिरहेको छ ।
अहिलेको ताल्चा साह्रै खुकुलो छ । जसका कारण चालकले बीचबाटोमा तेल चोर्ने गरेका घटना बारम्बार आउने गरेका छन् ।
तेल चोरीलाई न्यूनीकरण गर्न निगमले आधुनिक लकिङ लगाउन लागेको हो । ट्यांकर ढुवानी व्यवसायीले पनि लकिङ सिस्टमका लागि सहयोग गर्दै आएका छन् ।















प्रतिक्रिया