काठमाडौं, २६ फागुन । राष्ट्रिय निर्वाचनमा कमजोर नतिजापछि सरकारबाट बाहिरिन बाध्य भएको नेपाली कांग्रेसलाई सुधार्न नेपाल तरुण दलले होटेलबाट अभियान सुरु गरेको छ ।
तरुण दलले जिल्ला अध्यक्ष र विदेश विभाग अध्यक्षलाई राखेर नगरकोटमा फागुन २२ देखि २४ सम्म तीनदिने प्रशिक्षण दिएको छ । सुविधान सम्पन्न होटेलमा गरिएको प्रशिक्षणको तरुण दलभित्रै विवाद खडा भएको छ ।
पार्टी अध्यक्ष शेरबहादुर देउवाले उद्घाटन गरेको कार्यक्रममा प्रदीप गिरी, बालकृष्ण खाँड, कृष्ण सिटौला, नवीन्द्रराज जोशी र महेश दाहाल लगायतका नेताले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ८० जना सहभागी थिए ।
तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले फरक परिस्थितिमा संगठन र पार्टीलाई कसरी अगाडि बढाउने लगायत विषयमा प्रशिक्षण केन्द्रित भएको जानकारी दिए । बस्नेतले सो भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताहरूलाई भने नबोलाएको स्रोतले जनाएको छ ।
पौडेल समूहले कार्यक्रम गर्नु नै थियो भने सामान्य होटेलमा गरेको भए पनि हुने थियो भने टिप्पणी गरेको छ । ‘नगरकोटको रिसोर्टमा गरए प्रशिक्षण गर्नुपर्ने थिएन । यति महँगो रिसोर्टमा कार्यक्रम गर्दा नकारात्म सन्देश जान्छ भनेर हामीले भनेका थियौँ’, तरुण दलका एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्ष जितजंग बस्नेतले मान्नुभएन । यति धेरै खर्च कहाँबाट आयो केही जानकारी दिइएको छैन ।’
स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा युवा परिचालन गर्न नसेकेको भनेर तरुण दलका अध्यक्ष जितजंग बस्नेतको आलोचना भइरहेका बेला जिल्ला अध्यक्षहरूको भेला गरिएको छ ।
सभापति शेरबहादुर देउवा र आजुर देउवाको आशीर्षवादमा तरुण दलको अध्यक्षमा मनोनीत बनेका अध्यक्ष बस्नेतले अहिले पनि संगठनमा खासै काम गर्न नसकेको आरोप छ । बस्नेतका गतिविधि विरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आक्रोश व्यक्त गर्दै आएको छ ।
निर्वाचनका बेला कांग्रेसका उम्मेदवारका पक्षमा प्रचार प्रसार गर्न नसकेपछि अध्यक्ष बस्नेतले जिल्ला अध्यक्ष र केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई नगरकोटको राम्रो होटेलमा राखेर रक्सी पार्टी दिएकोमा भने उनको व्याङ्गात्मक रुपमा प्रसंशा हुन थालेको छ । अध्यक्ष बस्नेतलाई संगठन र युवा परिचालनभन्दा पनि होटेलका कार्यक्रम राख्न रुचि देखाउने गरेको आरोप पनि छ ।
















प्रतिक्रिया