१ कार्तिक २०८३, आइतबार

प्रदेश ४ मा खेल पर्यटन विकासका सम्भावनाको खोजी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ फागुन । खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा बुधबार यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

प्रदेश नं ४ मा खेल पर्यटन विकासका धेरै सम्भावना भएको कार्यक्रमका सहभागिले बताएका छन् । हिमालदेखि तराईसम्मको विविधतायुक्त प्राकृतिक वातावरण रहेकाले यस प्रदेशभित्र विभिन्न खेल खेलाउने सम्भावना रहेको वक्ताहरूले बताएका छन् ।

पूर्वाधार विकास गरी यस प्रदेशलाई खेल पर्यटनको विशिष्ट स्थलका रुपमा विकास गर्नुपर्ने सहभागिले सुझाव दिएका छन् । कार्यक्रममा पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले यस क्षेत्रको खेल विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने निर्णय गरिएको बताउनुभयो ।

पूर्वाधार विकासका माध्यमबाट अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता यही प्रदेशमा सञ्चालन गरिनु आवश्यक भएकोमा जोड दिँदै उहाँले भन्नुभयो, “पूर्वाधार विकासका दृष्टिले हामी धेरै पछि परेका छौँं, आवश्यक पूर्वाधारको विकास गर्दै अघि बढ्नु अपरिहार्य छ ।”

प्रदेशमा खेलकुदको विकासका लागि नीतिगत समस्या भए त्यसको समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताउँदै उहाँले त्यसका लागि स्पष्ट मार्गचित्रसहित आउन सम्बद्ध क्षेत्र र निकायलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ‘खेल पर्यटन र सम्भावनाका आधार’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले प्रदेश नं ४ खेल पर्यटनको सम्भावनायुक्त स्थल भएको बताउँदै यसको विकासका लागि प्रदेश सरकारको सक्रियता जरुरी भएको बताउनुभयो । पूर्वाधार विकास गर्ने विषय सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘प्रदेश नं ४ मा खेलकुदको अवस्था र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल खेलकूद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले काठमाडौँंबाट नजिक विमानस्थल, होटल र यहाँको पर्यटकीयस्थल रहेकाले खेलकूदसँग सम्बन्धित एवं अन्य व्यक्तिलाई आकर्षित गर्ने स्थलका रुपमा प्रदेश नं ४ रहेको बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले दृढ इच्छाशक्तिका साथ लाग्ने हो भने प्रदेश नं ४ लाई खेलकुद पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने बताउँदै यसका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुने धारणा राख्नुभयो ।

खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले प्रदेश नं ४ मा खेल पर्यटनको सम्भावनाको पहिचान र त्यसको उजागरमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । अन्तरक्रियामा उठेका विषयले यस क्षेत्रको विकासका लागि मार्ग निर्देश गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारी, इन्द्रधारा विष्ट र मोहन रेग्मी, नेपाल खेलकूद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्य, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज आचार्य, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतिक, पर्यटन व्यवयायी गणेशबहादुर भट्टराई, सञ्जयकान्त सिग्देललगायतले खेल पर्यटनका लागि प्रदेश नं ४ सम्भावनायुक्त ठाउँ भएर पनि पूर्वाधार विकासका दृष्टिले पछि परेको धारणा राख्नुभएको थियो । –रासस