
काठमाडौँ, २२ फागुन । सिचाई डिभिजन कार्यालय रुकुम अन्तर्गत निर्माणाधिन चौरहजारी सिचाई परियोजनाको हेडवर्कसमा अज्ञात समूहले बम राखेको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेता पनि निर्माण व्यवसायीहरुलाई आतंकित पार्ने गरी भएको यस किसिमको घटनाको महासंघले कडा शब्दमा भत्सर्ना गरेको हो । महासंघलाई साईड इन्चार्ज सोम थकालीबाट प्राप्त जानकारी अनुसार अज्ञात समूहबाट उक्त परियोजना निर्माणमा संलग्न व्यवसायीहरुसँग पैसा माग्ने, धम्क्याउने काम हुँदै आएको महासंघका महासचिव रामशरण देउवाद्धारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । परियोजना निर्माणमा कुमार श्रेष्ठ–बज्रगुरु–क्याराभान जेभी संलग्न रहेको महासंघले जनाएको छ ।
भौतिक पूर्वाधारको क्षेत्रमा अहोरात्र खटिने निर्माण व्यवसायीहरुलाई आतंकित पार्ने यस किसिमका घटनामा संलग्नलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न तथा देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघले सरकार समक्ष जोडदार माग गरेको छ ।















प्रतिक्रिया