
काठमाडौँ, २१ फागुन । निजी क्षेत्रका बाणिज्य बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स संघको पहलमा बैंकहरुले निक्षेपको ब्याजदरलाई एकरुपता दिएका हुन् । यसअघि १० प्रतिशतसम्म ब्याज दिँदै आएका अधिकांश बैंकले घटाएर ८ प्रतिशतमा झारेका छन् ।
बजारमा रकम अभाव देखिएपछि बैंकहरुबीच निक्षेप संकलनका लागि प्रतिस्पर्धा चलेको थियो । सोहीकारण पनि बैंकहरुले बिभिन्न निक्षेप योजना ल्याउँदै १० देखि १२ प्रतिशतसम्म ब्याजदरमा निक्षेप संकलन गर्दै आएका थिए । मुद्दतिमा १२ प्रतिशतसम्म दिएका बैंकले बचतमा १० प्रतिशतसम्म दिएका थिए । निक्षेपको दर बढेपछि कर्जाको दर पनि ह्वात्तै बढेको थियो । जसका कारण सर्वसाधारणहरु मारमा पर्दै आएका थिए ।
बचत र मुद्दति निक्षेपमा बैंकहरुले दिने ब्याजदरमा १ प्रतिशत पनि फरक नभएपछि ब्याजदर घटाउने समझदारी भएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।
बैंकर्स संघको बैठकमा सहभागी एक सिइओका अनुसार, अब बचतमा ८ प्रतिशत भन्दा बढी ब्याजदर नदिने समझदारी भएको छ ।
बैंकरहरुबीचको सहमतिपछि अब निक्षेपको मात्रै होइन्, कर्जाको पनि ब्याजदर घटने देखिएको छ ।















प्रतिक्रिया