
काठमाडौँ, २० फागुन । प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले झण्डै तीन महिनापछि आइतबार सपथ लिएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले सांसदहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
दिउँसो ४ बजेका लागि तोकिएको सपथ कार्यक्रम झण्डै ३५ मिनेट ढिला गरि शुरु भएको थियो । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालले पनि सपथ लिएका छन् । कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीले भने सपथ लिन पाएनन् ।
अदालतको आदेशपछि उनी कैलाली जिल्ला कारागारमा छन् । २०७२ को भदौमा टिकापुरमा ८ जना सुरक्षाकर्मीसहित नाबालकको हत्या भएको घटनाका मुख्य योजनाकार भनिएका चौधरी फरार अवस्थामै राजपाको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका थिए ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार २०७३ जनाले सपथ लिएका छन् । राजपाका नेता महेन्द्र राय यादवले सोमबार सपथ लिने भएका छन् । नागरिकताका भएको त्रुटिका कारण ६३ वर्षका उनको ८० वर्ष उमेर कायम छ । यसअघि जेष्ठ सदस्यका रुपले उनैले सपथ गराउने भनिएको थियो । तर, उनले संसदको मर्यादालाई ख्याल गर्दै आफू आइतबार सपथग्रहणमा सहभागी नहुने र सोमबार मात्र लिने बताएका थिए ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित सपथ कार्यक्रममा सांसदहरु विभिन्न भेषभुसामा देखिएका छन् । सांसदहरुले विभिन्न मातृभाषामा समेत सपथ लिएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मैथिलीमा सपथ लिदा राजपा अध्यक्ष मण्डलकका नेता राजेन्द्र महतोले भने हिन्दीमा सपथ लिएका छन् ।
सांसद राजेन्द्र श्रेष्ठले नेवारीमा सपथ लिदा वर्षमान पुन र ओनसरी घर्तीले मगर भाषामा सपथ लिएका छन् । यसैगरी उपेन्द्र यादवका अलवा उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, रेणुकुमारी यादव, दिलकुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झाले पनि मैथलीमा सपथ लिएका छन् ।
यसैगरी, हिन्दीमा राजेन्द्र महतोका अलवा अनिलकुमार झा, प्रमोद शाह, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरीले सपथ लिएका छन् । मुअम्मद इस्तियाक राइले अवधी, प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, हरिनारायणप्रसाद रौनीयार र अकवाल मियाँले भोजपुरीमा सपथ लिएको संसद सचिवालयले जनाएको छ ।
गंगा चौधरी सत्गौवा र शान्ता चौधरीले थारु, हितबहादुर तमाङले तामाङ, र रोहीनाजले उर्दु भाषामा सपथ लिएका छन् । सपग्रहणपछि सांसदहरुले लोगो समेत पहिरिएका छन् । अहिले सांसदहरु संघीय संसद सचिवालयले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी भइरहेका छन् ।















प्रतिक्रिया