काठमाडौँ, १८ फागुन । अमेरिकाका एक इन्ष्टिच्युटमा जागिर लगाई दिने भन्दै लाखौँ रकम ठगी गर्ने दुईजनालाई प्रहरीले पक्रा गरेको छ । काठमाडौँका विभिन्न स्थानहरुबाट प्रहरीले उनीहरुलाई गत बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दाङ, तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ९ घरभई हाल काठमाडौँस्थित कालोपुल बस्ने ४१ वर्षीय छबिलाल चौधरी र सोही ठेगानाकी ४६ वर्षीय सुभद्रा कर्माचार्य रहेका छन् ।
उनीहरुविरुद्ध रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौँ बालाजु बस्ने भरत डाँगीलगायतका ७ जनाले मुद्दा दिएपछि प्रहरीले उनीहरुको खोजीकार्य शुरु गरेको थियो । चौधरी र कर्माचार्यले अमेरीकाको इन्टरनेशनल इन्ष्टिच्युट अफ इन्फिनिटिज्म भन्ने संस्थामा रोजगारीका लागी पठाईदिन्छु भनी पीडितहरुबाट पटक पटक गरी २६ लाख लिएको खुल्न आएको छ ।
प्रहरीले उनीहरुको साथबाट इन्टरनेशनल ईन्ष्टिच्युट अफ इन्फिनिटिजम कम्पनीको जाहेरवालाहरुको नामको पत्र (२९ प्रति), आईएमई गरेको सक्कल भौचर (३ पाना), जाहेरीसाथ पेश गरेको रकम जम्मा गरेको बैंक अफ काठमाडौँको सक्कल भौचर (४पाना), जाहेरवाला लगायत अन्य व्यक्तीहरुको पासपोर्ट (१४ थान), सुभद्रा कार्माचार्यको नाममा काटिएको ग्लोवल आईएमई बैंकको ५ लाख रुपैयाँको चेक (१ थान) लगायतका कागजात बरामत गरेको छ ।















प्रतिक्रिया