२ कार्तिक २०८३, सोमबार

संघीय संसदको पहिलो बैठक, यस्ता छन् कार्यक्रम

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । संघीय संसद् २१ फागुनमा बस्ने पहिलो बैठकको कार्यसूची पारित भएको छ । संसद् सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठक राखेर कार्यसूची पारितगरेको हो ।

कार्यसूचीमा पहिलो दिनमै बैठक सञ्चालन गर्न अन्तरिम कार्यविधि पारित गर्ने सूची राखिएको छ । संसदमा प्रतिनिधित्व गर्ने पाँच राष्ट्रिय दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेतासँगको बैठकले अन्तरिम कार्यविधि पारित गर्ने सहमति जुटेको हो ।

पहिलो बैठकको कार्यसूची बनाउने र त्यसपछिका बैठकको तयारीबारे सहमति भएको संसद् सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले बताए । संसद् नियमावली तयार नहुन्जेलसम्मका लागि उक्त कार्यविधिका आधारमा दुवै सदनका बैठक सञ्चालन हुनेछन् ।

सचिवालयका अनुसार पहिलो दिनको कार्यसूचीमा सुरुमा राष्ट्रिय गान बजाइनेछ । त्यसपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वानका लागि गरेको पत्र ज्येष्ठ सदस्यले पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि एक मिनेट मौनधारण हुनेछ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बोल्न दिने कार्यसूची तयार भएको छ । दलका नेताहरूले बोल्नेक्रम सकिएपछि संसद् सञ्चालन नियमावली नबनेसम्मका लागि आन्तरिक कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरिनेछ । सो प्रस्तावमा छलफल गरेर पारित गर्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता गौतमले जानकारी दिए ।

सचिवालयले दलका प्रतिनिधिलाई अन्तरिम कार्यविधिको मस्यौदा उपलब्ध गराएको र दलहरूले त्यसमा आवश्यक सुझावसहित यही २० फागुन १० बजे पुनः बस्ने सर्वदलीय बैठकबाट अन्तिम रूप दिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम २१ फागुन अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक आह्वान गरेकी छन् ।

२० फागुनमा दुवै सदनका ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् । त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यलाई २० फागुन १० बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने कार्यसूची तयार भइसकेको छ । प्रतिनिधिसभामा राजपा नेपालका ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रिय सभामा कांग्रेसका ६९ वर्षीया तारादेवी भट्टले अन्य सदस्यलाई शपथ गराउनेछन् । सभामुख र अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठक सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानअनुसार संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेबारे समेत बुधबारको बैठकमा छलफल भएको छ । त्यस्तै, प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसतर्फ पनि कार्यसूची तयार पार्ने विषयमा छलफल गरिएको छ ।

२० फागुन प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रिय सभा सदस्यको शपथ अपराह्न ५ बजे संसद् भवन बानेश्वरमा हुनेछ । सचिवालयले शपथमा आउने सदस्यहरूलाई राष्ट्रिय पोसाक एवं राष्ट्रियता तथा संस्कृति झल्कने पोसाक लगाउन सूचना दिइसकेको छ ।

सदस्यहरूलाई नागरिकता वा निर्वाचित प्रमाणपत्रको प्रतिलिपिसहित बैठकमा उपस्थिति हुन सचिवालयले सूचित गरेको छ । बुधबारको बैठकमा एमालेबाट सुवास नेम्वाङ, कांग्रेसबाट डा.मीनेन्द्र रिजाल, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राजपाका यादवलगायतका नेता सहभागी थिए । प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् ।