३ कार्तिक २०८३, मंगलबार

सलमान खानको कार्यक्रम रोक्न ‘विप्लव’को धम्की, यसरी भयो बिथोल्ने तयारी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २६ गतेकाठमाडौंमा हुने बलिउड सुपरस्टार सलमान खानको कार्यक्रम विथोल्ने चेतावनी दिएको छ ।

‘नेकपा’को भातृसंगठन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले विज्ञप्ति जारी गरेर फागुन २६ गते काठमाडौंको सैनिकमञ्चमा भारतीय कलाकार ल्याएर गर्न लागिएको कार्यक्रम रोक्न आग्रह गरेका हुन् । ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक सांस्कृतिक कार्यक्रम फागुन २६ गते हुँदैछ ।

‘यही फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ ।’

‘नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन्’, विज्ञप्तिमा भनिएको छ, ‘कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर, त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवर्द्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन ।’

सलमान खान कलाकारको हिसाबमा नेपाल आउनमा कुनै अवरोधको नीति नरहेको भन्दै महासचिव थपलियाले भनेका छन्, ‘रक्सी, मदिराका प्रवर्द्धनको लागि नेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ । त्यसैले ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्न हामी सरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ ।’

सलमान खान आफ्ना केही भारतीय कलाकारहरूका साथ रक्सीको प्रमोसनका लागि नेपाल आउँदा नेपाली जनता खुसी नरहेको दाबी गरिएको छ । ‘सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ’, विज्ञप्तिमा भनिएको छ, ‘रक्सीको प्रोमोसनका लागि दसौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ ।’

‘कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको प्रति हाम्रो गम्भीर आपत्तिसमेत रहेको छ । हाम्रो संगठन भारतीयहरूको यसप्रकारको गलत नियत तथा नीतिको तीव्र विरोध र भत्र्सना गर्दछ’, थपलियाले भनेका छन् ।

‘अन्य सहयोगी एजेन्सीलाई कुनै पनि सहयोग नगर्न हामी यसै प्रेस विज्ञप्तिमार्फत् सबैलाई आग्रह गर्न चाहन्छौँ’, महासंघका महासचिव थपलियाले चेतावनीपूर्ण भाषामा भनेका छन्, ‘जबर्जस्ती गर्न खोजे, अन्यथा रूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिद्वारा स्पष्ट पार्न चाहन्छौँ ।’

केही रक्सीको प्रचार प्रसारका लागि टुँडीखेलमा अभिनेता सलमान खानसहितका कलाकारले विशेष कार्यक्रम र प्रस्तुति गर्दै छन् । सो कार्यक्रमको प्रचार प्रसार र महँगोमा टिकट विक्री भइरहेका बेला ‘नेकपा’ले कार्यक्रम विथोल्ने चेतावनी दिएको हो ।
निर्वाचनका बेला बम विष्फोटनका गतिविधि गरेको भनेर ‘नेकपा’ प्रशासनको नजरमा छ ।