
दार्चुला, २५ मंसिर । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने दुर्गम हिमाली ब्यास गाविसको सीतापुल तथा राप्लाको दुम्लिङमा सीमा क्षेत्रमा खटिएको प्रहरीलाई खाद्यान्न समस्या हुने गरेको छ ।
भौगोलिक विकटता तथा मानव बस्ती नभएका कारण त्यस क्षेत्रमा खाद्यान्नको समस्या भएकाले प्रहरीलाई सीमा क्षेत्रको सुरक्षा गर्न समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो ।
ब्यासको सीतापुल तथा राप्लाको दुम्लिङमा परिचालन गरिएको प्रहरी टोलीको खाद्यान्नको समस्या केन्द्रमा राख्दा जिल्लाबाटै समाधान गर्न भन्ने गरेकाले थप समस्या भएको उहाँको भनाइ छ । उक्त क्षेत्रमा जान बाटोको समेत समस्या भएकाले खाद्यान्न ढुवानी गर्न नसकिने अवस्था रहेको छ ।
कात्तिकदेखि मङ्सिरसम्म ब्यासको तिङ्कर नाका हुँदै तिब्बततिर चोरी तस्करी हुने गरेकाले उक्त समयमा प्रहरीलाई सो क्षेत्रमा खटाउन खाद्यान्नको समस्या प्रमुख रहेको प्रहरीले जनाएको छ ।
ब्यास तथा राप्लाको दुम्लिङमा जाने सुरक्षा टोलीले जिल्लाबाट आफ्ना लागि केही दिनका लागि खाद्यान्न बोकेर लैजाने गरेको भए पनि उक्त खाद्यान्न सकिएपछि भोकभोकै बस्नुपर्ने अवस्था रहेको प्रनाउ कार्कीले बताउनुभयो ।
समस्याका बारेमा केन्द्रमा पटक–पटक कुरा राख्दासमेत सुनुवाइ नभएको कार्कीको गुनासो छ । ब्यासको तिङ्कर, सीतापुल तथा राप्लाको दुम्लिङमा प्रहरी परिचालन गर्नका लागि केन्द्रीय तहबाटै समस्या समाधान गर्नुको विकल्प नरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया