
काठमाडौँ, ७ फागुन । झण्डै ६ महिनादेखि जारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीको पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एकताका लागि पटक–पटक एक्ला एक्लै र सामूहिक वार्ता हुने गरेका छन् । एमाले र माओवादीबीच एकता वार्ताबारे सार्वजनिक हुने फरक–फरक समाचारले तल्लो तहका कार्यकर्ताहरुलाई कहिले आशातित बनाउँछन् त कहिले निराश बनाउँछन् । घरी कुरामा मिलिसिकेका समाचार आउँछन्, घरि धेरै कुरा मिल्न बाँकी रहेका समाचार आउँछन् । यसले पार्टी एकताको पखाईमा रहेका कार्यकर्तामा दुविधा निम्त्याएको छ ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातारजसो ‘वान टु वान’ वार्ता भइरेहेका छन् । उनीहरुबीच शनिबार र आइतबार पनि ‘वान टु वान’ वार्ता भएको थियो । सोमबार समेत फेरि एकपटक ‘वान टु वान’ वार्ताको तयारी छ । तर, समय यकिन भइसकेको छैन । दुई अध्यक्षबीच वार्ता भएपछि एकता संयोजन समितिको बैठक बस्ने भनिएको छ ।
एमाले र माओवादीबीच देखिएको सैद्धान्तिक विवाद दुई अध्यक्षको वार्ता सल्टिएको नेताहरुले बताएका छन् । सोमबारको संयोजन समितिले त्यसलाई अनुमोदन गर्ने बताइएको छ । सोमबारको एकता संयोजन समितिको बैठक निर्णायक हुने एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले दाबी गरे ।
सोमबार बिहान मात्र माओवादी अध्यक्ष प्रचण्डले वार्ता सकारात्मक भएको तथा अब सरकारमा सहभागी हुने विषयमा अवरोध नरहेको पार्टी नेताहरुलाई ब्रिफिङ गरेका थिए । यसअघि सैद्धान्तिक कुरा नमिलेको भन्दै माओवादी सरकारमा सहभागी भएको थिएन । सैद्धान्तिक कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने उसको अडान थियो । पार्टी एकता र माओवादी केन्द्र सरकारमा सहभागी हुने पक्काजस्तै भएको प्रवक्ता पम्फा भूसालले बताइन् ।
ओली-दाहालबीच आइतबार भएको वार्तामा दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त (जनताको बहुदलीय जनवाद र २१ औं सताब्दीको जनबाद) लाई बहसमा लैजाने, एकीकृत महाधिवेशनबाट दुवै सिद्धान्तको निकास खोज्ने सहमती भएको नेताहरुले बताएका छन् । यसअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आलोपालो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने, एकीकृत पार्टीमा ओली र प्रचण्डको समान हैसियतमा रहने तथा दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने विषयमा सहमती जुटिसकेको छ । तर, यसलाई पार्टी एकता संयोजन समितिको बैठकबाट अनुमोदन गर्न बाँकी छ । सोमबार साँझ बस्ने संयोजन समितिको बैठकबाट सबै कुरा टुङ्गिने नेताहरुको भनाई छ ।
नेताहरुका अनुसार आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक सकारात्मक भएमा मंगलबार रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुनेछ । निकै लामो समयदेखि जारी एकता प्रक्रिया नटुङ्दिा कार्यकर्ता तथा मतदाताहरुमा अन्योल देखिएको भन्दै नेताहरुले सोमबारलाई एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ जनाएका छन् । यसअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले दुई पार्टी एकता पनि ‘सरप्राइज’ हुने बताएका थिए ।















प्रतिक्रिया