२९ आश्विन २०८३, बिहिबार

सुदूरपश्चिम औद्योगिक, कृषि, पर्यटन र व्यापार मेला सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २३ मंसिर । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ सोमबार सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेला सुरु भएको छ ।

अगामी पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारसँग सम्बन्धित तथा स्थानीय खानाका स्टल गरी झण्डै २५० स्टलहरु रहेका छन् ।

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले महोत्सवको उद्घाटन गर्दै आर्थिक समृद्धि र विकासका लागि १५वर्षसम्म सुदूरपश्चिम क्षेत्रलाई कर मुक्त क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो ।

उहाँले देशको साधन स्रोतको क्षमताअनुसार प्रदेशहरुको निर्माण हुनुपर्ने एमालेको धारणा रहेको स्पष्ट पार्दै प्रदेश निर्माण गर्दा जातजाति एवम् वर्ग समुदायबीच फाटो ल्याउने गरी निर्माण गर्नु नहुने बताउनुभयो ।

एमाले नेता रावलले सकेसम्म सहमतिद्वारा नभए प्रक्रियामा गएर भएपनि एक वर्षभित्र संविधान ल्याउनेमा काँग्रेस, एमाले, एमाओवादी र मधेसी दलहरुले विगतमा प्रतिबद्धता गरेको स्मरण गराउँदै अहिले आएर सहमति पनि हुन नदिने र प्रक्रियामा गएर संविधान निर्माण गर्न पनि नदिने खेलमा एमाओवादी र मधेसी दलहरु लागेको आरोप लगाउनुभयो ।

एमाओवादीका नेता लेखराज भट्टले बाह्रबुँदे समझदारी र अन्तरिम संविधानको भावनाविपरीत गएर संविधान बन्न नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका युवा नेता एवम् सभासद पुष्करनाथ ओझाले हतारिएर संविधान बनाउने नाममा प्रजातान्त्रिक मूल्य मान्यताविपरीतको संविधान ल्याइए आफूलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

समारोहमा सभासद् भरतबहादुर खड्का, प्रेम आलेमगर, बुद्धिसागर चौधरी, मोहनसिं राठौरलगायतले पनि आर्थिक तथा समाजिक समृद्धिका लागि राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिनुभएको थियो ।

समारोहमा सेती अञ्चल अस्पतालमा सघन उपचार कक्ष स्थापनाका लागि समाजसेवी राजबहादुर सिंहले कैलाली उद्योग वाणिज्य सङ्घलाई एक लाख प्रदान गर्नुभएको थियो ।

यसैगरी भारत हल्बदानीस्थित शाही अस्पतालका डा मोहन सती र डा अल्ता सतीले अञ्चल अस्पतालमा सघन उपचार कक्ष स्थापनाका लागि ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

समारोहमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।