काठमाडौं, २२ मंसिर । सत्तारुढ एमालेको केन्द्रीय कमिटीको बैठक केहीबेर बसेर मंसिर २४ गतेसम्मका लागि स्थगन गरिएको छ ।
पार्टी कार्यालय बल्खुमा आज बसेको बैठकमा अध्यक्ष केपी ओलीले संविधान निर्माणमा दलहरुबीचको छलफललाई प्राथमिकता दिनुपर्ने भएकाले बैठक स्थगन गरेको बताए ।
अध्यक्ष ओलीले एमालेलाई जनताले विश्वास गरेर समयमै संविधान बनाउन निर्णायक भूमिका निर्वाह गर्न जिम्मेवारी दिएकाले त्यसमा केन्द्रित हुन आह्वान गर्नुभएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
झाँक्रीका अनुसार अध्यक्ष ओलीले पार्टीहरुबीच सहमतिका लागि अधिकतम प्रयास गर्ने भन्दै नयाँ संविधानविनाको राज्यको परिकल्पना गर्न नसकिने धारणा राखेका थिए ।
यस्तै, अध्यक्ष ओलीले पार्टीले वर्तमान सरकारको परिवर्तन नभई विस्तारका लागि प्रयास अघि बढाइरहेको अवगत गराए ।
पार्टीको नवौं महाधिवेशनपछि स्थायी कमिटी, पोलिटब्युरो चयन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा निर्णय नगरी यसअघि बैठक पटकपटक स्थगित भएको थियो ।
संविधान निर्माणमा पार्टीलाई केन्द्रित गर्ने भन्दै एक महिनाअघि तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो ।
आजको बैठकमा पनि समसामयिक राजनीतिक स्थिति, संविधान निर्माणबारे भएका वार्ता र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने कार्यक्रम थियो ।















प्रतिक्रिया