२ कार्तिक २०८३, सोमबार

प्रचण्डविरुद्ध वैद्यले निकाले कडा विज्ञप्ति

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । मोहन बैद्य ‘किरण’ले प्रचण्डप्रति कटाक्ष गर्दै नेतृत्वले धोका दिँदा जनयुद्धले गम्भीर धक्का खान पुगेको बताएका छन् । सोमबार प्रेश वक्तव्य जारी गर्दै बैद्यले जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदा गर्दै तथा विश्वमा आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुगेपनि पार्टीको मूल नेतृत्वले गम्भीर धोका दिएकाले जनयुद्धले गम्भीर धक्का खान पुगेको बताएका हुन् ।

बैद्यले दश वर्षको जनयुद्धबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्वहाली गरी संविधान बनाएको आरोप लगाएका समेत छन् । उनले स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावलाई नौटङ्कीको संज्ञा दिएका छन् ।

त्यस्तै विज्ञप्तिमा २३ औँ नजयुद्ध दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउने निर्णय बताइएको छ । विज्ञप्तिमा भनिएको छ, दश वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्वहाली गरी संविधान बनाइयो । हामी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौं । यसै उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै तेइसौं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हो ।

प्रेसवक्तव्यको पूर्णपाठ

हामी तेइसौं जनयुद्ध दिवस मनाउँदै छौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा तेइस वर्षअघि २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । सो जनयुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जाने उद्देश्यमा आधारित थियो । दश वर्षसम्म सञ्चालित जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुग्दै थियो । परन्तु, पार्टीको मूल नेतृत्वबाटै गम्भीर धोका दिइनुको कारण त्यसप्रकारको जनयुद्धले गम्भीर धक्का खान पुग्यो ।

महान् जनयुद्धको प्रक्रियामा हजारौँ वीर योद्धाहरुले सहादत प्राप्त गरे । कैयौं राज्यद्वारा बेपत्ता पारिए । कैयौँ घाइते तथा अपाङ्ग बनाइए । तेइसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी जनयुद्धका महान् अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । बेपत्ता योद्धाहरुको स–सम्मान संस्मरण गर्दछौं । साथै, जनयुद्धमा घाइते अपाङ्ग बनेका सम्पूर्ण योद्धाहरुप्रति पनि हामी सम्मान जाहेर गर्दछौं । साथै, हामी वीर सहिद तथा बेपत्ता योद्धाहरुका परिवारजनहरुप्रति पनि सम्मान प्रकट गर्दछौं । यसैगरी हामी पार्टीका सम्पूर्ण कमरेडहरु, क्रान्तिका शुभचिन्तक, परिवर्तनकामी जनसमुदाय र अन्तर्राष्ट्रिय क्षेत्रका मित्र, भाइचारा पार्टी तथा विश्वसर्वहारावर्गप्रति पनि हार्दिक शुभकामना तथा अभिवादन व्यक्त गर्दछौं ।

दश वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्वहाली गरी संविधान बनाइयो । देश र जनताका मुक्ति र स्वतन्त्रताका सपना साकार हुन सकेनन् । यस वर्ष स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावी नौटङ्की पूरा गरी संसदवादी संविधान कार्यान्वयनको झ्याली पिंटिदै छ । वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र बन्दै गएको छ । यस जटिल स्थितिमा हामी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौं । यसै उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै तेइसौं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हो । फेरि पनि हार्दिक शुभकामना ! क्रान्तिकारी अभिवादन !! लाल सलाम !!!
मिति : २०७४ फागुन १
……………………
किरण
महासचिव