१४ कार्तिक २०८३, शनिबार

विवाहकै दिन बेहुला बेपत्ता, अपहरण भएको परिवारको आशंका

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २७ माघ । गैँडाकोट नगरपालिका–१४ अमरापुरीका २९ वर्षीय बालकृष्ण खरेलको गत २२ माघमा विवाह थियो । अघिल्लो दिन विवाहको सबै तयारी भयो । निकै ढिला गरी सुत्न गए । परिवारका अन्य सदस्य ओछ्यानमा जाँदा बिहान पौन एक बजिसकेको थियो । त्यतिवेलासम्म पनि उनी कोठामा सुतिरहेकै थिए ।

अाजकाे नयाँ पत्रिकामा खवर छ – विवाहका दिन सबै उठे, बालकृष्ण उठेनन् । आफन्त कोठामा गए, तर उनी ओछ्यानमा थिएनन् । आफन्तले तत्कालै उनको खोजी सुरु गरे । तर, पाँच दिन बितिसक्दा पनि उनी भेटिएका छैनन् ।

बालकृष्णको अपहरण भएको हुन सक्ने परिवारले आशंका गरेका छन् । दाइ गुरुप्रसाद खरेलका अनुसार उनलाई बिहान एक बजेसम्म आफन्तले घरमै देखेका थिए । बिहान पौने ६ बजेतिर ओछ्यानमा हेर्दा नदेखेपछि खोजतलास सुरु भएको थियो ।

‘केही चिन्ताका कारण कतै गयो कि भनेर उक्त दिन गाउँघरका साथीहरूसँग सोधपुछ मात्रै गर्ने काम गरियो, कतै फेला नपारेपछि प्रहरीमा खोजी गरिदिन निवेदन दियौँ, तर अझैसम्म पनि पत्ता लाग्न सकेको छैन,’ खरेलले भने । बालकृष्ण कति वेला, कताबाट, कसरी बाहिर गए भन्नेसम्म पनि परिवारका कसैलाई पत्तो छैन ।

उनी नौ वर्ष स्पेन बसेर दुई महिनाअघि मात्र फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार उनको राजीखुसीमा डेढ महिनाअघि विवाह पक्का भएको थियो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले घटनाको अनुसन्धान गर्न स्थानीय प्रहरीसँग आवश्यक प्रविधि उपलब्ध नभएकाले केन्द्रमा सिफारिस गरिएको बताए ।