२ कार्तिक २०८३, सोमबार

प्रदेश नम्बर ६ को मुख्यमन्त्री छान्न माओवादीमा महाभारत, को बन्ला मुख्यमन्त्री ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ माघ । प्रदेश नम्बर ६ को मुख्यमन्त्री टुंगो लगाउन माओवादीलाई सकस परेको छ ।

मुख्यमन्त्रीको आकांक्षी महेन्द्रबहादुर शाही र नरेश भण्डारी त छँदैछन्, तर उनीहरुमध्ये कस्लाई बनाउने भन्नेमा पूर्वगृहमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेतबीच जुंगाको लडाईं देखिएपछि झन सकस भएको थियो । पार्टीभित्र आफ्नो पावर एक्सरसाइज गरिरहेका यी दुई गृहमन्त्रीलाई आफूले मुख्यमन्त्री बनाएको जस लिन कहिले शाही त कहिले भण्डारीलाई उकासेको आरोप छ ।

पार्टीभित्र अध्यक्ष प्रचण्डका प्रिय रहे पनि प्रदेश नम्बर ६ का नेता भएका कारण आफ्नो भूगोलमा कसरी पकड जमाउने भन्नेमा यी दुवैबीच चर्को लडाईं छ । तर, मंगलबार साँझ यी दुबै नेताबीच रोमाञ्चक एकता देखिएको छ ।

मुख्य मन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन सुर्खेत पुगेका बस्नेत र शर्माबीच मंगलबार साँझ भएको बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ ।

समग्र ६ नं प्रदेशको समृद्धि र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या हल गर्न तथा पिछडिएको प्रदेशलाई समृद्धिमा बदल्न एकरुपताका साथ अघि बढ्ने समझदारी भएको जनाइएको छ । लामो समयदेखि फरक फरक तरिकाले आ–आफ्ना गतिविधि गरिरहेका दुवै पूर्वगृहमन्त्री मंगलबार साँझ एउटै कार्यक्रममा देखिएपछि माओवादीका स्थानीय नेता पनि हौसिएका छन् ।

मुख्य मन्त्रीको दाबी कायम राखेका सांसदद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाहीले सहमतिको निर्णय आफ्नै पक्षमा हुने अपेक्षा गरेका छन् । यद्यपि शाहीलाई नै मुख्ममन्त्री बनाउनेमा दुई पूर्वगृहमन्त्रीबीच भद्र समझदारी भएको स्रोतले बतायो । पूर्वगृहमन्त्रीबीच यो सगोल बसाइबाट सही निर्णय आउनेमा नेता तथा कार्यकर्ता विश्वस्त देखिएका छन् ।

मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्न ६ नं प्रदेशमा रहेका पोलिटब्यूरो सदस्यहरुको बुधबार विहान ११ बजेदेखि बैठक बोलाइएको छ । बुधबारको बैठकबाट मुख्यमन्त्री छानिने नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा ६ नं प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिए ।