२ कार्तिक २०८३, सोमबार

पोखरामा प्रदेश सभा बैठक, यस्ता छन् पाँच एजेण्डा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ माघ । प्रदेश नम्बर ४ को पहिलो ऐतिहासिक प्रदेश सभा बैठक आज पोखरामा बस्दैछ ।

पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्न लागेको हो । बैठकको अध्यक्षता संसद्का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गर्नेछन् ।

सोमबार ११ बजे बस्ने संसद् बैठकका लागि ६० जनामध्ये आइतबार नै ५७ जना सांसद आइतबार नै पोखरा पुगिसकेका छन् ।

प्रदेश मुख्यसचिव लक्ष्मण अर्यालका अनुसार, प्रदेश सभामुख र उपसभामुखको निर्वाचन मिति सोमबार तोकिने भएको छ । पहिलो संसद् बैठक बस्नुभन्दा १ घन्टाअगाडि बस्ने तय भएको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गर्नेछ ।

संसद्को पहिलो बैठकका लागि १६ जना मर्यादापालक खटिँदै छन् । प्रदेश सभा सांसद औपचारिक पोसाकमा पहिलो बैठकमा सहभागी हुनेछन् ।

यस्तो छ पहिलो बैठकको कार्यसूची

– प्रदेश ४ को पहिलो बैठकले संसदीय परम्पराअनुसार सुरुमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

– प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई संसद्समक्ष प्रस्ताव गर्ने र छलफल गरी पारित गरिनेछ ।

– प्रदेश सभाको ऐतिहासिक पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिलाई मन्तव्यको समय दिइनेछ ।

– चौथो कार्यसूचीमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची रहेको छ । प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ अनुसार सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम छ । सभामुखको अनुपस्थितिमा संसद् सञ्चालनका लागि संसद्मा सहभागी ५ दलका १–१ जना प्रतिनिधि रहने गरी अध्यक्षमण्डल गठन गर्ने तयारी छ ।

– प्रदेश सभाको सभामुखको निर्वाचनका लागि दिन तोकिनेछ । प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार सभामुखको निर्वाचनको मिति तोकिनेछ ।