४ कार्तिक २०८३, बुधबार

मनिषा कोइरालाको अनुभव: झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जब मैले मद्दत मागे, दयालु मानिस आए । कुनै दिन म ती मानिसहरूको नाम भन्नेछु, जसले आ-आफ्नो तरिकाबाट मलार्ई मद्दत गरे । मान्छेभित्र दयाको यो भावना देख्ने मौका मलाई क्यान्सरले दियो । मैले लुइस हेको ‘यु क्यान हिल योर लाइफ’ पढेको थिए । त्यसमा उनी लेख्छिन्, ‘पाठेघरले सिर्जनात्मकतालाई प्रतिनिधित्व गर्छ । यदि पाठेघरमा कुनै रोग छ भने जीवनमा सिर्जनात्मकताका अन्य गतिविधि अपनाऊ’ । म एउटा कलाकार हुँ । मलाई थाहा थियो सिर्जनात्मक हुनु मेरो जीवन तत्व हो । तर, पाठेघरको क्यान्सर भएपछि थाहा पाएँ, अब मेरो जीवन नै त्यसैमा निर्भर हुनेछ । त्यसपछि मैले जे सक्छु, त्यही गर्न थालेँ । मैले पेन्टिङ गर्न थालेँ । घर सजाउन थालेँ । बगैंचा गोड्न थालेँ । यी कामले मेरो निको हुने प्रक्रिया छिटो भयो।

नियमित व्यायामबाट शरीर र मनलाई स्वस्थ राख्न जरुरी छ । क्यान्सर बिरामीका लागि त झनै । म हिँड्न थाले । खानपान, व्यायाम, योग, प्राणायाम अपनाएँ । आठ घन्टा नियमित सुत्नु राम्रो हुन्छ । आफूलाई भावनात्मक रूपमा सही राख्न पनि ज्यादै जरुरी छ । मैले त्यो सबै अभ्यास गरेँ ।

आज कुनै पनि कुराले म धेरैबेर डिस्टर्ब हुन्नँ । तिनको प्रभाव आफ्नो सोचाइमा पर्न दिन्नँ । आखिर म पनि मानिसै हुँ । कहिलेकाहीँ उदास हुन्छु । रिसाउँछु । रुन्छु । वा नकारात्मक प्रतिक्रिया देखाउँछु । तर यी सब भावनालाई आफूसित धेरैबेर बाँधेर राख्दिनँ । यी आउँछन्, अनि जान्छन् । मसित बस्दैनन् । यो मेरो आध्यात्मिक साधना पनि हो । उदासीलाई आफूसँग टाँसिइरहन नदिने साधना । कुनै पनि पीडादायक सोचलाई आफूसँग झुन्डिन नदिने साधना । पीडा आउँछ । म त्यसप्रति सचेत हुन्छु । जब म सचेत हुन्छु, त्यो धेरैबेर टिक्नै सक्दैन । अध्यात्मको शक्ति मैले अनुमान गरेभन्दा धेरै रहेछ ।

क्यान्सर कति दुःखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो । क्यान्सरमुक्त भइसकेपछि त्यसका केही असर बाँकी रहन्छन्, मलाई थाह छ । तर, कुरा त्यतिमा सीमित छैन । क्यान्सरले मेरो जीवनमा कतिपय सकारात्मक बद्लाव पनि ल्याएको छ, जो सायद कहिल्यै आउने थिएनन् मेरो जीवनमा । म जीवनको महत्व धेरै बढ्ता महसुस गर्न थालेकी छु । क्यान्सर लाग्नुअघि, म जीवनलाई बाँचिरहेकी मात्र हुन्थे, आजभोलि मैले जिउन सिकेकी छु । बाँच्नु र जिउनुबीच ठूलो अन्तर छ ।

क्यान्सरले मलाई सिकाएको छ, हाम्रो वरिपरिका घटना र वातावरणले हामीलाई जतिसुकै असर गरिरहेको भएता पनि, सुरुवातचाहिँ क्यान्सर बिरामीले आफैंबाट गर्नुपर्छ । आफ्नै प्राथमिकताबाट गर्नुपर्छ । सबैभन्दा पहिला मैले आफ्नो हेरचार आफैं गर्नुपर्छ । मैले आफूलाइ आफैं माया गर्नुपर्छ । आफ्ना निम्ति म आफैं जिम्मेवार हुनुपर्छ । आफूलाई पहिला राख्नुपर्छ भनिरहँदा यो नठानियोस् कि यो एक्लै आफ्नो निम्ति मात्र बाँच्ने सोचाइ हो । आफ्नो निम्ति आफैं जिम्मेवार हुनुपर्छ । तर, साथै यो बोध पनि अनिवार्य छ, हामी सबै संसारमा कुनै न कुनै प्रकारले एकआपसमा जोडिएका छौं । एक्लै कोही छैनौं । एकअर्कामा पारस्परिक निर्भरता छ ।  आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।