२ कार्तिक २०८३, सोमबार

मुख्यमन्त्रीमा ७ जनाको रोचक भिडन्त, कस्ले पाउला ओलीको आर्शिवाद ?

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । प्रदेश नम्बर तीनको मुख्यमन्त्रीमा रोचक भिडन्त हुने देखिएको छ ।

एमालेले चुनावबाटै संसदीय दलको नेता छान्ने निर्णय गरेपछि प्रदेश नम्बर तीनको मुख्यमन्त्रीको दौड झन रोचक बनेको हो । एमालेबाट अहिलेसम्म सात जना मैदानमा छन् । कतिपयले यो बीचमा गुट समेत परिवर्तन गरिसकेका छन् । संसदीय दलको नेता नै मुख्यमन्त्री हुनेछन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सर्वसम्मत गर्ने प्रयास गरेपनि त्यो सम्भावना अत्यन्त न्यून देखिएको छ । अहिलेसम्म शाक्यसँगै पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, पशुपति चौंलागाईं, सानुकुमार श्रेष्ठ, केशव स्थापित, कैलाश ढुंगेल, डोरमणि पौडेल दावेदार छन् । यसअघि मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका नेता अरुण नेपाल भने शाक्यलाई मुख्यमन्त्री बनाउने अभियानमा छन् ।

मुख्यमन्त्रीका दावेदारमध्ये शाक्य, चौंलागाई र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर र पौडेल, स्थापित, श्रेष्ठ र ढुंगेललाई पार्टी संस्थापन पक्ष निकट नेताका रुपमा चिनिन्छ ।

अहिले ७ जना दाबेदार देखिए पनि अन्तिममा शाक्य र पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि माधव नेपाल खेमामा रहेका पाण्डेले मुख्यमन्त्री हुन संस्थापन पक्षमा आएको चर्चा पनि एमालेमा छ । उनीहरु दुईबीचको प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ ।

तर, अन्य आकांक्षीहरु पनि अध्यक्ष केपी शर्मा ओलीको आर्शिवाद लिन दौडधुप गरिरहेका छन् । राजधानीबाट चुनाव जितेका सानुकुमार श्रेष्ठ र केशव स्थापितले आफूलाई अष्टलक्ष्मीको विकल्पका रुपमा अगाडि सारिरहेका छन् ।

ओलीको आर्शिवाद कस्लाई ?

एमाले स्रोतका अनुसार, प्रदेशको मुख्यमन्त्रीमा एमाले अध्यक्ष ओलीले कसैका पक्षमा पनि भोट नमाग्ने देखिएको छ । कुनै एक नेतालाई च्यापेको अबगाल सहन नपरोस् भनेर नै उनले संसदीय दलको चुनावका लागि खुल्ला छाडिदिएको स्रोतको दाबी छ ।

तर, एमाले उपाध्यक्ष शाक्य आफूलाई अध्यक्ष ओलीले सहयोग गर्नेमा विश्वस्त देखिन्छिन् भने पाण्डे, श्रेष्ठ र स्थापित पनि ओलीको सहयोग पाउनेमा त्यति नै ढुक्क छन् । काठमाडौँका पूर्वमेयर स्थापितले त झन् अध्यक्ष ओलीसँग आफ्नो आन्द्रा गाँसिएको भन्दै आफू नै मुख्यमन्त्री हुने दाबी गर्दै आएका छन् ।