२ कार्तिक २०८३, सोमबार

प्रदेश नम्बर २ को पहिलो बैठकको कार्यसूची बिहीबार तय हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अजयकुमार साह
महेन्द्रनगर (धनुषा), १८ माघ । प्रदेश नम्बर २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची बिहीबार तय हुने भएको छ ।

प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय सचिवालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गरेका थिए । बिहीबार प्रदेश सभाको पहिलो बैठकको विषयमा कार्यविधि तयार गर्न सर्वदलीय बैठकको आह्वान गरेका छन् । प्रमुख कायस्थले माघ २१ गते हुने प्रदेश सभाको पहिलो बैठकका लागि दलसँग परामर्श गर्ने बुधबार परामर्श बैठक आह्वान गरेका हुन् ।

बैठकबाट २१ माघमा हुन लागेको प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूचीको विषयमा निर्णय हुनेछ । दलहरुको सहमतिमा नै अधिवेशनको कार्यसूची तयार गरिने प्रदेश प्रमुखका स्वकीय सचिव बरुण यादवले बताए ।

प्रदेश सभाले सभामुख, उपसभामुखको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सरकार गठनका लागि पनि प्रयास गर्नुपर्नेछ । तयारी बैठकमा यसबारे पनि छलफल हुनेछ । बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले सहसचिव वंशीराज पौडेलको नेतृत्वमा कर्मचारी खटाएको छ । उनले ज्येष्ठ सदस्यलाई बैठक सञ्चालनका लागि आवश्यक समन्वय गर्नेछन् ।

त्यसैगरी, जिल्ला सुरक्षा समितिले प्रदेश सभाका लागि प्रहरी इन्स्पेक्टरको नेतृत्वमा २१ जना मर्यादापालक सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ । केन्द्रीय संसद्मा जस्तै उनीहरु सादा पोशाकमा खटिने धनुषा प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंहले बताए । उनका अनुसार सुरक्षा समितिको निर्णयअनुसार बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका करिब ५० जना खटाइनेछन् । मर्यादापालकको संख्या पनि ५० पु¥याउने लक्ष्य रहेको प्रहरी नायब निरीक्षक सिंहले बताए ।

माघ ७ गते प्रदेश प्रमुख कायस्थले प्रदेश सभाका ज्येष्ठ सदस्य ललनलाल चौधरीलाई शपथग्रहण गराएका थिए भने चौधरीले बाँकी १०६ जना सदस्यलाई शपथ ग्रहण गराएका थिए । सोही दिन प्रमुख कायस्थले २१ माघका लागि संसद्को पहिलो अधिवेशन तय गरेका थिए ।

उनले भने, ‘हामी संघीय संरचनामा भर्खरै प्रवेश गरेका छौँ, त्यस अनुसारको पूर्वाधार र तयारी छैन । निर्वाचित भएर आएका सांसदसँग पनि पर्याप्त अनुभव छैन । मेरो प्रशासकीय र राजनीतिक अनुभवका आधारमा म उहाँहरूलाई समन्वय र सहजीकरण गरिरहेको छु ।’

उनले आफूले सबैलाई सहज हुने गरी भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, ‘पहिलो बैठकमा तय हुने विषयवस्तु पनि छलफलबाट तय हुन्छ । संविधानले मलाई दिएको दायित्वका आधारमा प्रदेश सभाका सदस्य र राजनीतिक दललाई मेरो पूर्ण सहयोग रहन्छ ।’ प्रदेश सभामा आवश्यक पूर्वाधार केन्द्रीय संसद्को जस्तै हुने गरी तयारी भइरहेको छ ।

यही २१ माघमा जनकपुरको कुवा रामपुरस्थित शैक्षिक तालीम केन्द्रको सभाहलमा बैठक बस्ने भएको हुँदा प्रदेश सभाका लागि तालीम केन्द्रको भुइँतलामा सभाहल निर्माण भइरहेको छ । त्यसका लागि आवश्यक फर्निचर निर्माण, खरिद तथा भवनका सबै कोठामा धमाधम सरसफाइ भइरहेको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले १९ माघमा व्यवस्थापिकाका लागि भवन प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गर्ने तयारीका साथ काम गरिरहेको छ । प्रदेश सभाको अधिवेशनका लागि १० माघदेखि नै तयारीमा जुटेको छ ।

डिभिजन कार्यालय जनकपुरका प्रमुख गंगाप्रसाद यादवका अनुसार प्रदेश सभाका लागि तालीम केन्द्रको सभाहलमा मर्मत–सम्भार, रंगरोगन, फर्निचर, लाइट लगायतका कार्य युद्धस्तरमा भइरहेको छ । प्रमुख यादवले भने, ‘समय एकदमै कम भएकाले दिनरात काम भइरहेको छ । जेनेरेटरको व्यवस्था गरेर राति पनि काम गरिरहेका छौँ ।’ शैक्षिक तालिम केन्द्रमा करिब ६० जना मजदुर दिनरात खटिएका छन् ।

डिभिजन कार्यालयले सहायक सबइन्जिनियर सूर्यनारायण मण्डललाई निर्माण कार्यको रेखदेख गर्न खटाएको छ । सभामुख र उपसभामुखको आवास उनीहरूका लागि बेग्लाबेग्लै कार्यकक्ष, प्रदेश सभा सचिवालयको तयारी भइरहेको छ ।

पाँच पार्टीको संसदीय दलको कार्यालय पनि शैक्षिक तालीम केन्द्रको माथिल्लो तलामा तयार भइरहेको छ । ६ बिघा क्षेत्रफलमा रहेको शैक्षिक तालिम केन्द्रमा सातवटा भवन रहेका छन् । प्रदेश सभामुखका लागि जिल्ला शिक्षा कार्यालयको भवनमा आवास तथा कार्यकक्ष तयार हुँदैछ ।

शैक्षिक तालिम केन्द्रको माथिल्लो तल्लामा प्रदेश सभा सचिवालय, उपसभामुखको आवास तथा कार्यकक्ष निर्माण भइरहेको छ । छात्रछात्रा तथा प्रशिक्षक भवनमा कर्मचारीको कार्यालय तथा आवासको व्यवस्थापन हुँदैछ ।

केन्द्रको भुइँतलामा तयार भइरहेको प्रदेशसभा हलमा १५० कुर्सीको व्यवस्था गरिँदैछ । प्रदेश सभामा १०७ सदस्य सांसद छन् । केन्द्रको संसद् भवनमा जस्तै माथिल्लो तल्लामा बाल्कोनीको व्यवस्था गरिँदैछ । बाल्कोनीमा दर्शक तथा सञ्चारकर्मीलाई बस्ने व्यवस्था मिलाइँदैछ । सचिवालयको हरेक क्रियाकलाप निगरानीका लागि सिसिटिभी क्यामराको समेत जडान हुँदैछ । –रासस