गोरखा, २० मंसिर । एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले सुशील कोइराला नेतृत्वको वर्तमान सरकारमा एमाले सामेल नहुने बताउनुभएको छ ।
आफ्नो पुख्र्याैली घर गोरखाको खोप्लाङ गाविसस्थित बेलबासमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिलेको सरकारमा एमाओवादी प्रवेश नगर्ने र सरकार ढाल्ने वा बनाउने खेलमा पनि नलाग्ने बताउनुभयो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले दलहरू गम्भीर भएर वार्तामा बस्ने हो भने माघ ८ मै संविधान जारी गर्न सकिने बताउनुभयो । राजनीतिक दलका शीर्ष नेताहरू गम्भीर भएर दुईघण्टा मात्रै छलफलमा बस्ने हो भने विवादित विषयमा सहमति जुट्ने उहाँको भनाइ थियो ।
कार्यतालिका छोट्याएर भएपनि संविधान जारी गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीयताको विषयमा दलहरू सहमति नजिक पुगेको उल्लेख गर्नुभयो ।
‘सङ्घीयताको विषयमा त्यति धेरै विवाद बाँकी छैन’ उहाँले भन्नुभयो, ‘सङ्घीय प्रदेशको नाम जनताले राख्ने गरी सहमति नजिक दलहरू पुगेका छन् ।’ दश प्रदेश वा सात प्रदेशको मध्यबिन्दूमा सहमति हुने भन्दै उहाँले मध्यमार्घी बाटो अपनाउन दलहरूलाई सुझाव दिनुभयो ।
‘कसैले हार्ने वा जित्नेगरी संविधान जारी गर्ने भन्ने होइन’ उहाँले भन्नुभयो, ‘सबैले जितेको आभाष गर्ने खालको संविधान जारी गर्नुपर्छ ।’
















प्रतिक्रिया