२ कार्तिक २०८३, सोमबार

‘बादल’का लागि किन ‘शहिद’ बने एमालेका बेदुराम भुसाल ? यस्तो छ खासकारण

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । राष्ट्रिय सभामा माओवादीका नेता रामबहादुर थापा ‘बादल’लाई जिताउन नेकपा एमालेका नेता बेदुराम भुसाल ‘शहिद’ भएका छन् ।

माओवादी नेता ‘बादल’को विजय सुनिश्‍चित गरिदिनुपर्ने भएकोले एमालेका भुसाललाई अन्‍तिम समयमा पार्टी नेतृत्वले उम्‍मेदवारी फिर्ता लिन निर्देशन दिएको बुझिएको छ। भुसाल एमालेका बौद्धिक र सरल नेता हुन् । उनी एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालका ‘किचेन क्याबिनेट’ मानिन्छन् ।

माओवादी नेता थापा राष्ट्रिय सभाको अध्यक्षका रुपमा अगाडि सारिएका छन् । तर, उनले चुनाव हार्ने भएपछि भुसाल ‘शहिद’ हुनुपरेको हो । एमालेले भुसाललाई प्रदेश ३ को खुला कोटाबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । खुला सदस्यमा एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल उम्मेदवार थिए भने माओवादीबाट रामबहादुर थापा ‘बादल’ उम्मेदवार छन् ।

प्राथमिकतामा एक नम्बरमा बास्कोटा, २ नम्बरमा बादल र तेस्रो नम्बरमा भुसाल थिए । तर, नेमकिपा लगायतका साना दलले समर्थन नगरेपछि तीनमध्ये २ सिट मात्र वाम गठबन्धनले जित्न सक्ने देखियो ।

प्रदेश नम्बर ३ अन्तरगतका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर तथा अध्‍यक्ष, उपाध्‍यक्षले बेदुरामलाई पहिलो प्राथमिकताको मत दिनसक्ने र त्यसो हुँदा ‘बादल’ पराजित हुने स्पष्ट देखिएकाले बेदुरामको उम्मेदवारी झिक्न लगाइएको हो । एमालेको भोट बादललाई नआउने र उनले चुनाव हार्न सक्ने भन्दै माओवादी झस्किएको थियो । बादलले हार्दा पार्टी एकतामा समेत असर पार्ने सम्भावना देखियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रह गरेपछि एमाले अध्यक्ष केपी ओली भुसाललाई उम्मेदवारी फिर्ता गराउन राजी भएका थिए । भुसालले सोमबारै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

राष्ट्रिय सभाका लागि प्रदेश ३ बाट प्रत्यासीहरुमध्ये एमाले दुईजना र राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्‍मेदवार एकजनाले आफ्‍नो उम्मेदवारी फिर्ता लिएका छन्।