काठमाडौं, १५ माघ । निर्वाचनमा पराजय भोगेपछि आन्तरिक झमेलामा रहेको नेपाली कांग्रेसले प्रदेश सभामा कसरी अगाडि बढ्ने भनेर परामर्श समेत नगरेको गुनासो बढ्न थालेको छ ।
कांग्रेस पराजयबारे केही दिन अगाडि केन्द्रीय कार्यसमितिमा नेतृत्वको आलोचना भएको थियो । तर, प्रदेशमा के गर्ने भन्ने कुनै निर्णय भएको थिएन ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभामा कसरी अगाडि बढ्ने भनेर निर्णय गरिसकेका छन् । त्यति मात्रै होइन एमालेले प्रदेश सभाको संसदीय दल र सभामुखहरू बनाउनेबारे आन्तरिक गृहकार्य थालिसकेको छ । माओवादी पनि सोही अनुसार गृहकार्य थालेको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश नं. ५ का सांसद डिल्लीबहादुर चौधरीले संसदीय दलको बैठक र नेता को बन्नेबारेमा त्यस्तो छलफल सुरु भइनसकेको बताए । उनले भने, ‘अब तयारी हुन्छ । अहिले नै के गर्ने भन्ने भएको छैन ।’
प्रदेश नं. १ मा ९३ सांसद रहेका छन् । कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा १३ गरी २१ सांसद छन् । १ नं. प्रदेशमा एमाले एक्लैको बहुमत रहेकाले कांग्रेसले सरकार बनाउन प्रयास गर्ने सम्भावनै छैन । कांग्रेसबाट दलको नेता बन्न चारजना लबिङमा लागेका छन् ।
सुनसरी २ (ख) बाट निर्वाचित राजीव कोइराला, मोरङ ६ (ख) बाट निर्वाचित केदार कार्की, मोरङ २ (क) बाट निर्वाचित शिवनारायण गन्गाई र समानुपातिकतर्फका लोकप्रसाद संग्रौलाले दलको नेता बन्न लबिङ सुरु गरेको स्रोतको भनाइ छ ।
सुनसरी कांग्रेसका सभापतिसमेत रहेका कोइराला पौडेल पक्षका हुन् । कार्की कोइराला परिवार तथा संग्रौला नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । गन्गाई भने कुनै पक्षमा खुलेर लागेका छैनन् ।
प्रदेश २ मा १०७ सांसद रहेका छन् । प्रदेश २ मा कांग्रेसबाट प्रत्यक्षमा आठ र समानुपातिकमा ११ गरी १९ सांसद छन् । यो प्रदेशमा कुनै पनि दलको बहुमत छैन । कांग्रेसले अन्य दलसँग सहकार्य गर्ने सम्भावना छ । तर, मधेसकेन्द्रित दलहरू राजपा र संघीय समाजवादी फोरमले तालमेल गरेर निर्वाचन लडेको र दुई दल मिल्दा बहुमत पुग्ने भएकाले कांग्रेस सरकारमा सहभागी हुन्छ–हुँदैन, प्रस्ट भइसकेको छैन ।
धनुषा ३ (क) बाट निर्वाचित रामसरोज यादव तथा समानुपातिकतर्फका ओमप्रकाश शर्मा र नरेशकुमार यादवले लबिङ थालेका छन् । कांग्रेस धनुषाका सभापतिसमेत रहेका रामसरोज नेता विमलेन्द्र निधि हुन् । शर्मा सभापति र यादव पौडेलनिकट हुन् ।
प्रदेश ३ मा ११० सांसद छन् । यो प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा सात र समानुपातिकतर्फ १४ गरी २२ सांसद छन् । प्रदेश ३ मा एमालेको एक्लै बहुमत पुग्छ । यो प्रदेशमा दलको नेतामा चारजनाको नाम चर्चामा छ ।
मकवानपुर २ (ख) बाट निर्वाचित इन्द्र बानियाँ र समानुपातिकतर्फका मिलनबाबु श्रेष्ठ, डा. राजाराम कार्की र बलराम पौडेलले लबिङ सुरु गरेका छन् । पौडेल नेता रामचन्द्र पौडेलका सहोदर भाइ हुन् । बानियाँ नेता खुमबहादुर खड्का, कार्की सभापति देउवानिकट हुन् ।
प्रदेश ४ मा ५७ सांसद रहेका छन् । प्रदेश ४ मा कांग्रेसबाट प्रत्यक्ष ६ र समानुपातिकतर्फ नौ गरी १५ सांसद छन् । यो प्रदेशमा कुनै दलको पनि बहुमत छैन । एमाले–माओवादीले प्रदेश सरकार बनाउन सहमति गरिसकेका छन् ।
नवलपुर १ (क) बाट निर्वाचित कृष्णचन्द्र नेपाली, नवलपुर २ (क) बाट निर्वाचित विष्णुप्रसाद लामिछाने र समानुपातिकतर्फका मणिभद्र शर्मा कँडेलले दलको नेता बन्न इच्छा देखाएका हुन् ।
नेपाली पूर्वकेन्द्रीय सदस्य, लामिछाने नवलपरासी पार्टी सभापति र कँडेल बाग्लुङका पूर्वपार्टी सभापति हुन । नेपाली पौडेल, लामिछाने महामन्त्री डा. शशांक कोइराला र कँडेल सभापति देउवानिकट मानिन्छन् ।
प्रदेश ५ मा ९० सांसद छन् । प्रदेश ५ मा कांग्रेसबाट प्रत्यक्ष सात र समानुपातिकतर्फ १२ गरी १९ सांसद छन् । कसैको बहुमत नभए पनि वाम गठबन्धनले सरकार बनाउने तयारी गरेका छन् । त्यसैले कांग्रेस प्रतिपक्षमा रहने भएको छ ।
प्रदेश ५ मा दलको नेतामा चारजनाको नाम चर्चामा छ । रुपन्देही ४ (क) का सदस्य अष्टभुजा पाठक, दाङ ३ (क) का डिल्ली चौधरी तथा समानुपातिकतर्फका वीरबहादुर राना र अर्जुन श्रेष्ठले लबिङ थालिसकेका छन् । चौधरी बहालवाला श्रमराज्यमन्त्री हुन् । राणा कांग्रेस पाल्पाका पूर्वसभापति हुन् । पाठक पौडेल, श्रेष्ठ खुमबहादुर खड्का तथा राना र चौधरी सभापतिनिकट मानिन्छन् ।
प्रदेश ६ मा ४० सांसद छन् । कांग्रेसले प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ । समानुपातिकतर्फ पाँच गरी यो प्रदेशमा कांग्रेसका ६ सांसद छन् । प्रतिपक्षमा रहने निश्चित भए पनि दलको नेता बन्न दुई नेताले दाबेदारी प्रस्तुत गरेका छन् । हुम्ला (ख) बाट निर्वाचित जीवनबहादुर शाही र समानुपातिकतर्फका दीनबन्धु श्रेष्ठले दलको नेतामा दाबेदारी गरेका हुन् । शाही केन्द्रीय सदस्य र श्रेष्ठ पूर्वकेन्द्रीय सदस्य हुन् । शाही सभापति र श्रेष्ठ पौडेलनिकट मानिन्छन् ।
प्रदेश ७ मा ५३ सांसद रहेका छन् । प्रदेश ७ मा कांग्रेसबाट प्रत्यक्षमा चार र समानुपातिकतर्फ आठ गरी १२ सांसद छन् । प्रदेशमा दलको नेतामा तीनजनाको नाम चर्चामा छ । डोटी १ (क) बाट निर्वाचित भरतबहादुर खड्का, कैलाली १ (ख) का डा. रणबहादुर रावल र डडेल्धुरा (ख)का कर्णबहादुर मल्लले दाबेदारी प्रस्तुत गर्दै लबिङ सुरु गरेका छन् । मल्ल डडेल्धुरा सभापति हुन् भने खड्का पूर्वमन्त्री हुन् ।















प्रतिक्रिया