१ कार्तिक २०८३, आइतबार

धितोपत्र बजारः एक अर्ब ७३ करोड कारोबार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ माघ । धितोपत्र बजारमा यस साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ८६ अंकले बढेर अन्तिम दिन एक हजार ४०४ दशमलव ५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्र स्थानमा छ । सो कम्पनीको १६ करोड सात लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको छ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । –रासस