२ कार्तिक २०८३, सोमबार

शिवम् न्यू डायमण्ड कप महिला भलिबल हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेपाली महिला भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै छुट्टै पहिचान बनाउन सफल नैकापको न्यू डायमण्ड एकेडेमीले अब राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यू डायमण्डको आयोजना तथा शिवम् सिमेन्टको प्रायोजनमा ‘प्रथम शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता-२०७४’ यही माघ २१ देखि २३ गतेसम्म गर्ने जानकारी दिइएको हो ।

गोंगवुको ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अहिले भइरहेको १३औँ ढोरपाटन महिला डबल लिगको शीर्ष ६ स्थानमा रहने टिमले प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिताका संयोजक कुमार राईले बताए । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइनेछ ।

गत भदौमा न्यू डायमण्डलाई शिवम् सिमेन्टले एक वर्षको लागि ८ लाख नगद प्रायोजन गर्ने र त्यसवापत न्यू डायमण्डले एउटा प्रतियोगिता गर्नुपर्ने सम्झौता भएको थियो । जसमा ३ लाख न्यू डायमण्डले प्रायोजन वापत पाउने र ५ लाख प्रतियोगिताको लागि खर्चे गर्ने सम्झौता थियो ।

‘साना नालीहरुलाई भलिबल प्रशिक्षण गर्दै एक दशक बितायौँ । केही समयअघि शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको भलिबलमा शिवम् र हाम्रो भेट भएको थियो । त्यसबेला हामीले सहकार्य गरेका थियौँ ।’ न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका राईले भने । ‘अहिले शिवम् र न्यू डायमण्ड मिलेर शिवमु न्यू डायमण्ड भएका छौँ । त्यसैको फलस्वरुप हामीले अब भलिबल टुर्नामेन्ट गर्दैछौँ ।’

यस्तै शिवम् सिमेन्टका सेल्स तथा मार्केटिङका उपाध्यक्ष सजन देवकोटाले न्यू डायमण्डले उत्कृष्ट खेल खेलेजस्तै अब उत्कृष्ट प्रतियोगिता गरेर देखाउने विश्वास व्यक्त गरे । ‘जसरी डायमण्डले उत्कृष्ट खेल खेलेर सबैको मन जितेको छ । अब खेल्ने मात्र होइन उत्कृष्ट प्रतियोगिता समेत गरेर देखाउँछ ।’

प्रतियोगिताका संयोजक राईले अर्को वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने र यो भन्दा धेरै राम्रो प्रतियोगिता गर्ने बताए ।

‘यो पटक धेरै कार्यक्रमहरु भएका कारण समय अभाव भएकाले ६ टिम मात्र समावेश गरेका छौँ । दोस्रो संस्करणमा अझ धेरै टिम सहभागि गराउने छौँ ।’ राईले दोस्रो संस्करण गर्ने भएर नै यसपटक प्रथम शिवम् कप नाम राखेको प्रष्ट पारे ।

३ दिन चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार तथा उवविजेताले १ लाख १ हजार हात पार्नेछन् । यस्तै तेस्रो हुनेले ५१ तथा चौथोले २१ हजार पाउनेछ ।

शुक्रवारै शिवम् सिमेन्टले यसअघि भएको सम्झौता अनुसार प्रतियोगिताको मुख्य प्रायोजन वापत ५ लाखको चेक प्रतियोगिताका संयोजक कुमार राईलाई हस्तानतरण गरेका छन् ।

दोस्रो पुरस्कार नारायण बहादुर महर्जनले प्रायोजन गर्नेछन् भने चौथो पुरस्कार नेपाल जापान भलिबल संघका अध्यक्ष कुमार गुरुङले प्रायोजन गर्ने शुक्रबारकै कार्यक्रमा घोषणा गरे ।