१४ कार्तिक २०८३, शनिबार

६ नम्बर प्रदेशमा रस्साकस्सी, यी हुन् मुख्यमन्त्रीका आकांक्षी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । एमालेले चारवटा प्रदेशको नेतृत्व लिने भएपछि माओवादीले ६ र ७ दुवै प्रदेशमा स्वाभाविक नेतृत्व पाउनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ ।

तर, एमालेले भने त्यस क्षेत्रका पार्टी नेता र सांसदहरूको दबाबले विशिष्ट स्थिति उत्पन्न भएको भन्दै लचिलो बन्न माओवादीलाई आग्रह गरिरहेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रदेशतर्फ ४० सिटमध्ये एक्लैको २० सिटले सहज बहुमत पुग्ने अवस्था रहेको भन्दै नेतृत्व छाडेर सभामुखसहित बढी मन्त्रालय लिन एमालेले प्रस्ताव राखेको छ ।

तर, माओवादीले भने त्यस्तो प्रस्ताव कुनै हालतमा मान्न नसकिने अडान दोहोर्‍याएको छ । प्रदेश नम्बर ६ मा एमालेबाट पोलिटब्युरो सदस्यद्वय प्रकाश ज्वाला र यमलाल कँडेल तथा माओवादी केन्द्रबाट नेताहरू महेन्द्रबहादुर शाही र नरेश भण्डारीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।

एमालेको प्रदेश संगठन कमिटीले गठबन्धनको सिट बाँडफाँडमा पाएकोमध्ये प्रतिनिधिसभा र प्रदेश सभामा शतप्रतिशतसहित १ र ३ नम्बर प्रदेशपछिकै राम्रो परिणाम आएको भन्दै नेतृत्व छाड्न नसकिने अडान राखेको छ । सोही कारण विशिष्ट स्थिति देखिएको भन्दै एमाले नेताहरूले माओवादीलाई मनाउने प्रयास गरेका हुन् ।

अध्यक्षसँगको परामर्शमा १४ माघमा छलफल

दुवै दल आ–आफ्नो अडानमा कायम रहेकाले अध्यक्षद्वय केपी ओली र प्रचण्डसँगको परामर्शपछि १४ माघमा अन्तिम टुंगो लगाउने समझदारी भएको छ । ‘६ नम्बर प्रदेशमा विशिष्ट स्थिति छ, त्यसैले अहिलेसम्मका प्रगतिबारे शीर्ष नेताहरूसँग परामर्श लिएर १४ गते अन्तिम टुंगो लगाउने गरी बस्ने समझदारी भएको छ,’ पाण्डेले भने ।

यी हुन् मुख्यमन्त्रीका आकांक्षी

प्रदेश १– भीम आचार्य, शेरधन राई (एमाले)
प्रदेश २– (मधेसकेन्द्रित दलको बहुमत)
प्रदेश ३– अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानुकुमार श्रेष्ठ र केशव स्थापित (एमाले)
प्रदेश नम्बर ४– पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ (एमाले)
प्रदेश नम्बर ५– शंकर पोखरेल (एमाले)
प्रदेश नम्बर ६– महेन्द्रबहादुर शाही र नरेश भण्डारी (माओवादी), प्रकाश ज्वाला र यमलाल कँडेल (एमाले)
प्रदेश नम्बर ७– वीरमान चौधरी र झपट बोहरा (माओवादी केन्द्र)