
जानकारहरु भन्छन् – प्रहरीले डिफ्युजन नोटिस जारी गर्दैमा सिलवाललाई पक्राउ गर्न सक्दैन् । मिल्दैन ।
काठमाडौँ, १० माघ । जनताबाट अनुमोदित भएपछि यतिबेला अधिकांश सांसद जनताको बीचमा छन् । विकास र समृद्धिका लागि अनेक योजनाहरु बुनिरहेका छन् । तर, झण्डै तीस बर्षसम्म जनताको पहरेदार बनेर अब्बल प्रहरी अधिकृतको छवि बनाएका नवराज सिलवाल यतिबेला आफै न्यायको खोजीमा भौंतारिएका छन् । अझ आफ्नै देश ‘असुरक्षित’ भएपछि उनले सुटुक्क विदेशको साहरा लिनुपरेको छ ।
उनीसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहेका प्रकाश अर्याल र जयबहादुर चन्द अहिले पनि प्रतिसोध साँध्न कस्सिएका छन् । एक बर्षदेखि खेद्दै आएका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई त सिलवाल एमालेबाट निर्वाचित भएपछि झनै ठूलो टाउको दुखाई बनेको छ । कानुनी प्रक्रिया पुर्याएर सिलवाललाई जसरी पनि जेल हाल्न र सांसद पद निलम्बन गर्न सके एउटै गोलीले दुई शिकार हुने खेलमा उनी छन् । केही दिन अघि दैनिक नेपालसँगको कुराकानीमा सिलवालले भनेका थिए -‘वर्तमान सरकारले मलाई अनावश्यक दुःख दिने र फसाउने नियत राखेपछि मैले सतर्कता अपनाएको हो । एमालेका शीर्ष नेताहरुकै सुझाव अनुसार म चलिरहेको छु । म कहीँ भागेको छैन्, जनताकै बीचमा छु ।’
प्रहरीले सिलवाललाई पक्राउ गर्नका लागि यतिबेला डिफ्युजन नोटिस जारी गरेको छ । तर, जानकारहरु भन्छन् – प्रहरीले डिफ्युजन नोटिस जारी गर्दैमा सिलवाललाई पक्राउ गर्न सक्दैन् । मिल्दैन ।
किन ?
कुनै पनि व्यक्तिलाई रेड कर्नर नोटिस जारी गर्न पर्याप्त आधार नभेटिएपछि प्रहरीले खोजेको व्यक्ति आफ्नो मुलुकमा नभएको जानकारीसहित सो व्यक्ति विदेशमा भएको आंशका लागेको भन्दै इन्टरपोलसँग सूचना माग गर्न अनुरोध गर्ने पत्र नै डिफ्युजन नोटिस हो । यो नोटिस अल्पकालिन हुन्छ र त्यस नोटिसमार्फत सूचना संकलन गरी पक्राउ गर्न अर्को नोटिस जारी गर्नुपर्ने हुन्छ । त्यसका लागि अदालदतमा मुद्धा दायर गरी दोषी ठहर गरेपछि प्रहरीले रेडकर्नर नोटिस जारी गरी पक्राउ गर्न सक्नेछ । त्यतिन्जेलन इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको व्यक्तिको सूचना भने नेपाल प्रहरीलाई दिन सक्नेछ । अदालती प्रक्रिया पूरा नभइकन डिफ्युजन नोटिसको भरमा पक्राउ सम्भव हुँदैन ।















प्रतिक्रिया