
काठमाडौँ, ६ माघ । पछिल्लोपटक एमालेमा हाबी हुन खोजेका डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्न लागिएपछि नेकपा एमालेभित्र विरोध सुरु भएको छ ।
वरिष्ठ, प्रभावशाली र संकटका बेलामा पनि पार्टीलाई बचाउन योगदान पुर्याएका नेताहरुलाई छाडेर खतिवडालाई राष्ट्रिय सभाको सांसद बनाउन खोजिएपछि एमालेभित्र विरोध सुरु भएको हो । उनलाई राष्ट्रिय सभा सदस्य बनाएर अर्थमन्त्री बनाउनेसम्मको चाहना एमालेका कतिपय शीर्ष नेताहरुको रहेको भन्दै दोस्रो तहका नेताहरुले विरोध सुरु गरेका हुन् । खतिवडालाई राष्ट्रिय सभाको सांसद बनाउन प्रदेश संगठन कमिटीले सिफारिस गरिसकेको छ ।
यसो त डा. खतिवडा राजाको कालमा समेत नियुक्ति खाएका व्यक्ति हुन् । शासन हातमा लिएपछि राजा ज्ञानेन्द्रले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका थिए । युनडिपीको जागिर खाँदाखाँदै उनी राजालाई सघाउन नेपाल आइपुगेका थिए ।
एमालेका वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री भएका बेला उनलै ‘डबल’ पुरस्कार पाए । नेपाल नेतृत्वको गणतान्त्रिक सरकारले उनलाई योजना आयोगको उपाध्यक्ष बनायो । उपाध्यक्षको कार्यकाल बाँकी छँदाछँदै उनले नेताहरुलाई प्रभावित गरेर नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए । एमालेमा कयौं विज्ञहरु हुँदाहुँदै पनि खतिवडालाई केही नेताहरुले च्यापेपछि पार्टीभित्र तीव्र विरोध भएको थियो । राष्ट्र बैंकको गभर्नर हुँदा पनि उनी निकै विवादित भएका थिए । उनले ल्याएको गलत नीतिका कारण धेरै बैंकहरु धरायशी भएका थिए । बैंकहरुबाट अनुचित फाइदा लिएको आरोप अहिले पनि बैंकरहरुले लगाउने गरेका छन् ।
नेकपा एमालेका नेताहरु फास्ट ट्रयाक भारतलाई दिन नहुने पक्षमा उभिँदा खतिवडाले भने भारतलाई नै दिनुपर्ने भनी लबिङ गरेकाले उनको भूमिकालाई लिएर समेत शंका गरिएको छ । उनै खतिवडालाई एमालेका केही नेताले राष्ट्रिय सभाको सांसद हुँदै अर्थमन्त्री समेत बनाउने संकेत देखाएपछि पार्टीभित्र विरोध भएको हो । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भ्रमित पारिरहेको एमालेका एक नेताले बताए । ओलीले खतिवडालाई अर्थमन्त्री बनाए उनी आफैलाई समेत अप्ठेरो पर्ने एमाले नेताहरु बताउँछन् ।















प्रतिक्रिया