२ कार्तिक २०८३, सोमबार

फुटबलर रोनाल्डिन्होले सन्यास घोषणा गरे

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ माघ । ब्राजिललाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका छन् ।

सन् २०१५ देखि फुटबल प्रतिस्पर्धामा नखेलेका ३७ वर्षीय रोनाल्डिन्होले अहिले आएर मात्रै सन्यासको घोषणा गरेका हुन् । उनले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका उनले सन् २००५ मा वर्षको उत्कृष्ट खेलाडीले पाउने बालोन डी’ओर अवार्ड जितेका थिए । उनका भाइ तथा एजेन्ट रोबर्टो एसिसले मंगलबार रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएको जानकारी दिए ।

रोनाल्डिन्होको सम्मानका लागि शृङ्खलाबद्ध रुपमा इभेन्ट गरेपछि सन्यासको घोषणा आएको हो । रोनाल्डिन्होले ब्राजिलियन क्लब ग्रिमिओबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए ।

उनी सन् २००१ मा ग्रिमिओबाट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गए । सन् २००३ मा पिएसजीबाट बार्सिलोना गएका रोनाल्डिन्होले पाँच वर्षको बसाइमा दुई पटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगको उपाधि उचाले ।

सन् २००८ मा इटालियन क्लब एसी मिलान गएका उनी सन् २०११ सम्म त्यहीँबाट फुटबल खेले । उनले सन् २०१०–११ को सिजनमा सिरी ए फुटबलको उपाधि जिते। सन् २०११ मा उनी ब्राजिलियन क्लब फ्लामेन्गो गए ।

ब्राजिलको राष्ट्रिय टिमबाट ९७ खेल खेलेका उनले ३३ गोल गरेका छन् । – एजेन्सी