पोखरा (कास्की), २७ पुस । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृद्धिमा जोड दिनुपर्ने बताएका छन् । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले स्वदेशी उत्पादनलाई बृद्धि गर्नुपर्ने बताएका हुन् ।
४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै ढकालले सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र तयार रहेको बताए । मुलुकले संघीय संविधान पनि प्राप्त गरेको र सोहि संविधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको बताए ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाको पनि उपस्थिति रहेको थियो । आइएमई ग्रुप एक व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंकिङ, सूचना प्रविधि, पर्यटन, उर्जा, अटोमोबाइल, इन्स्योरेन्सलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।















प्रतिक्रिया