काठमाडौं, २२ पुस । ठगी मुद्दामा प्रहरी हिरासतमा रहेकी कृषि विकास बैंककी कर्मचारी दीपिका रेग्मीसँग २ किलो सुन भेटिएको छ । आफैं काम गर्ने बैंकबाट ५ करोड हिनामिना गरेकी दीपिकाले उक्त रकमबाट सुनका गहना खरिद गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।
दीपिकाको साथमा एक सय ७५ ग्राम सुनका गहना रहेको र कृषि विकास बैंकको लकरबाट बरामद गरिएको सिआईबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लकरमा विभिन्न किसिमका करिब २ किलो सुनका गहना भेटिएको र जसको मूल्य करिब ८० लाख रुपैयाँ हुनआउँछ।
कृषि विकास बैंकको न्यूरोड शाखामा सहायक टेलरका रुपमा काम गर्ने दीपिकालाई सिआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो । रेग्मीले अन्तर शाखा कारोबार हिसाब क्लियरिङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी थिइन ।
उनले करिब १ वर्षको अवधिमा बैंकबाट त्यसरी ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेकी थिइन्। ठगी गरेको पैसा उनले बिदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ।
















प्रतिक्रिया