बैंकक, २६ पुस । म्यानमारमा रोयटर्स समाचार संस्थासँग आबद्ध दुई पत्रकारलाई कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ । अन्तर्राष्ट्रिय विरोधको बावजुद पनि मुद्दालाई अघि बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
म्यानमारको ‘उपनिवेशिक युग कानुन’को उल्लंघन गर्दै दुई प्रहरीको गोप्य कागजपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले रोयटर्सका वा लोन र क्याव सो उलाई गत डिसेम्बर १२ मा पक्राउ गरेको थियो । रखिन राज्यमा खटाइएका ति प्रहरीले रोहिङ्ग्या मुस्लिमहरुको अधिकारको हनन गरेको आरोप लगाइएको थियो । जसकारणले ६५ हजार रोहिङ्ग्या मुस्लिमहरु बंगलादेशतर्फ प्रस्थान गर्न बाध्य भएको बताइएको छ ।
दर्जनौँ पत्रकारहरुले उनीहरुको पक्राउको विरुद्धमा अदालत बाहिर बुधबार प्रदर्शन गरेका थिए । ‘यो स्वीकार्य छैन’ अदालतको सुनुवाई पश्चात प्रहरीको ट्रक पछाडीबाट वा लोनले भने, ‘म तपाईहरुलाई भन्न चाहन्छु कि उनीहरुले हामीलाई सत्यताको खाजतलास गर्न प्रतिबन्ध लगाउने गरी हामीलाई आरोप लगाएका छन् । यस्ता कार्यहरु गलत र अनुचित छन् ।’
पत्रकारका वकिल थान ज आउङका अनुसार उनीको आरोप प्रमाणित भए १४ वर्षसम्मको जेल सजाय हुन सक्नेछ । उनीहरुलाई तत्काल रिहा गर्न माग गरेको थानले बताए । तर न्यायधिशले त्यो अनुरोधलाई जनवरी २३ मा हुने आगामी सुनुवाईमा समीक्षा गर्ने बताएको थानले जानकारी दिए ।
अधिकार तथा मिडियासँग सम्बन्धीत संघसंस्थाहरुले नोबेल शान्ति पुरस्कार पाएकी नेत्री आङ सान सुकीले ‘उपनिवेशिक युग कानुन’लाई निरन्तरता दिएको भन्दै लोकतान्त्रिक सरकारको आलोचना गरेका छन् । यस्तो प्रकारको कानुन शैनिक शासनमा लागु हुने गरेको बताइएको छ ।
उनीहरुको पक्राउले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । रोयटर्सको प्रमुख सम्पादक स्टेफेन एडलरले आफू निकै निराश भएको जनाउँदै पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यो घटनाले म्यानमारमा प्रेस स्वतन्त्रता बिग्रिको अवस्थामा रहेको पुष्टि भएको बताएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले ट्वीटमार्फत पत्रकारहरुको तत्काल रिहाईको माग गरेका छन् ।















प्रतिक्रिया