– शिशिर सिंखडा
रत्ननगर (चितवन), २५ पुस । समग्र चितवनको गौरब र गरिमामय प्रस्तुती रत्ननगर महोत्सव २०७४ को तयारी पूरा भएको आयोजकले जनाएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पुस २७ गतेबाट सुरु हुने नवौं रत्ननगर महोत्सव मुलु समारोह समितिले मंगलवार महोत्सव स्थल टिकौली चौरमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो ।
चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले बिशिष्ट र दुरगामी महत्व बोकेको संघका अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने यस्तो महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिइएको उनले बताए ।
रत्ननगर नगरपालिकाको संरकक्षत्वमा रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा नवौं संस्करण यही पौष २७ देखि माघ ७ गते सम्म महोत्सव आयोजना हुन गईरहेको छ । महोत्सव सम्पन्न गर्न आवश्यक पर्ने सबै काम सम्पन्न भईसकेको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सवको समुद्घाटन उपराष्ट्रपती नन्दबहादुर पुनबाट २७ गते बिहीबार बिहान ११ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको संघका महासचिव निराजन खनालले बताए । रत्ननगर महोत्सव २०७४ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिव ४५० वटा स्टल रहने छ ।
जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने आयोजकले बताएको छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने आयोजकको अपेक्षा छ ।
सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक सीसीटीभी बाट निरीक्षण गरिनेछ भने ३ करोड बराबर बीमाको व्यवस्था गरिएको छ । यस पटकको टिकट शुल्क सर्वसाधारण तर्फ ५० र विद्यार्थीलाई छुट सहित २५ रुपैयाँ राखिएको छ । त्यस्तै ज्येष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।















प्रतिक्रिया