५ कार्तिक २०८३, बिहिबार

अदुवाले बजार नपाउँदा डोटीका किसान चिन्तित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दीपक ओली

डोटी, २४ पुस । डोटीका किसानहरुको उत्पादित अदुवा बिक्री नभएर घरमै थन्किएको छ । अदुवा बिक्री नभइ कुहिन थालेपछि उनीहरु चिन्तित भएका छन् ।

डोटीको बडिकेदार गाउँपालिका, बोक्टान गाउँपालिका लगायतका क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको किसानहरुले बताएका छन् । वर्षेनी अदुवाबाट लाखौं आम्दानी गर्दै आएका यस क्षेत्रका किसानहरु यो वर्ष भने व्यापारीहरु अदुवा किन्न नआउँदा आगनमै चाँग लगाएर राख्न बाध्य छन् ।

७ नम्बर प्रदेश (साविक सुदूरपश्चिम) मा अदुवा प्रशोधन केन्द्र र भण्डारणको व्यवस्था नहँुदा यहाँका किसानहरु आफ्नो खेतबारीमा उत्पादित अदुवा कौडीको भाउमा बिक्री गर्न बाध्य भएको स्थानीय लालसिंह बमले बताए । यसअघि यहाँ अदुवा खरिदको लागि भारत तथा तराईका कैलाली र कञ्चनपुर जिल्लाबाट व्यापारीहरु आउने गरेकोमा यस वर्ष कोही नआएको बमले दुखेसो गरे ।

‘यहाँका अधिकांस किसानहरु अदुवा पेशामा आश्रित छन् । आफ्नो अदुवा बिक्री नभएर कुहिने अवस्थामा पुगेको छ,’ बडिकेदार गाउँपालिका ५, लानाका बिमल बोहराले भने, ‘सस्तो दरमा दिँदा पनि बिक्री भएको छैन् ।’

सुदूरपश्चिमकै प्रमुख अदुवा उत्पादन क्षेत्र बोक्टान भएपनि राज्यले उत्पादित अदुवाको उचित बजारको व्यवस्था गर्न नसक्दा आफ्नो मेहनत खेर गएको किसानहरुको भनाइ रहेको छ ।

यस क्षेत्रमा यातायातको सुविधा सहज नभएकोले ढुवानी महंगो पर्दा उत्पादित अदुवा बजारसम्म पुर्याउन समस्या हुने गरेको छ । प्रतिकिलो दश रुपैयाँ पर्ने अदुवा बजारसम्म पुर्याउन दुवानी भाडामा मात्रै सिमित हुने गरेको किसानहरुको गुनासो छ । यातायात सेवा पुग्ने विपीनगरसम्म अदुवा पुगाउन पाँच घण्टा लाग्ने गरेको छ ।

यसरी अदुवाले बजार नपाएपछि आगामी वर्ष किसानहरु अदुवा खेती छोडेर मकै खेती गर्ने तयारीमा जुटेको छन् । जिल्ला कृषि विकास कार्यालय डोटीले बोक्टान क्षेत्र अदुवाको लागि प्रख्यात रहेको र त्यसको भण्डारण तथा बजारको लागि कार्यालयले पहल गरिरहेको जनाएको छ ।

डोटीको बर्छैनमा उत्पादित अदुवा बिक्री नभएर किसानहरुले आगँनमै राखेको अदुवा ।