१४ कार्तिक २०८३, शनिबार

‘राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सिट तोक्न सकिँदैन’

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।

आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाका समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न नसकिने प्रस्ट पारेका छन् ।

‘प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणामलाई समानुपातिक निर्वाचन अधिकृतको कार्यालयबाट अहोरात्र खटेर तयार पार्ने कार्य भइरहेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न नभई उक्त परिणाम सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन भएको हुँदा परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न आयोग आतुर हुँदाहुँदै पनि सम्भव हुन सकेको छैन’, आयोगका प्रवक्ता घिमिरेले उल्लेख गरेका छन्, ‘संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) को प्रावधानले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट तोक्न आयोग असमर्थ रहेको छ ।’

आयोगले संविधान र कानुनले नै समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न नमिल्ने भएकाले कानूनी प्रक्रियालाई नजरअन्दाज गरी आफूमाथि लाञ्छना लगाउने र उत्तेजना फैलाउने काम नगर्न अपिलसमेत गरेको छ । राष्ट्रिय सभाको निर्वाचनको तयारीअनुसार निर्वाचन मिति तोक्ने विषयमा आयोग र सरकारबीच छलफल भइरहेको भन्दै प्रवक्ता घिमिरेले उल्लेख गरेका छन्, ‘आयोग नेपाली जनताले गोप्य मतदानबाट व्यक्त गरेको अभिमतलाई उच्च सम्मान एवं संविधान र कानुनको अक्षरशः पालना गर्दै अगाडि बढ्न दृढ संकल्पित छ । तसर्थ, निर्वाचनको परिणाम छिटो घोषणा होस् भनेर संविधान र कानूनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा आयोगको मानमर्दन गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न÷नगराउन सरोकारवालासँग अपिल गर्दछौं ।’