१४ कार्तिक २०८३, शनिबार

रुघाखोकीले हुम्लामा एकै दिन तीनको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, १९ पुस ।  हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्‍या जैसी र शंकरे रोकाया छन् ।

कार्की, शाही र जैसीको आइतबार तथा रोकायाको मंगलबार मृत्यु भएको स्थानीय कलबहादुर ऐडीले जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने र बान्ताको प्रकोपले विकराल रूप लिएको छ । हुम्ला जिल्ला अस्पतालका डा. नवीन रोकायाले भने धेरै ठाउँमा नभई ग्रामीण भेगमा रुघाखोकीका केही बिरामी देखिएको बताए ।

बालबालिका र वृद्धवृद्धा बढी संक्रमित

मृत्यु हुनेमा सबै ६५ वर्षभन्दा माथिका छन् । रुघाखोकीले बालबालिका र वृद्धवृद्धालाई बढी संक्रमण गरेको पाइएको छ । सयौँको संख्यामा बिरामीहरू उपचार नपाएर बसिरहेको सर्केगाड–८ का ऐडीले बताए ।

सुक्खा र खडेरीका कारण धुलाम्य वातावरणले झन् श्वासप्रश्वाससम्बन्धी संक्रमण भएको पाइएको छ । गाउँमा स्वास्थ्यकर्मी नहुनुले बिरामी थप समस्यामा परेका छन् । स्वास्थ्य संस्थामा औषधि नभएको भन्दै कार्यरत कर्मचारी बिदामा बसेका छन् ।

सातवटै गाउँपालिकामा रुघाखोकी प्रकोप

जिल्लाका सातवटै गाउँपालिकामा रुघाखोकीको प्रकोप फैलिएपछि बिरामीहरू गाउँमै थला परेका छन् । स्वास्थ्यचौकीमा सामान्य सिटामोलसमेत नहुँदा बिरामी घरमै थला परेको चंखेली गाउँपालिका–२ का भूपेन्द्र उपाध्यायले जानकारी दिए ।

‘स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन, कहाँ गएर बिरामी उपचार गर्ने ?’ उनले भने । रुघाखोकीको प्रकोपले श्वासप्रश्वासमा समस्या उत्पन्न भएको, घाँटी सुक्ने, बान्ता हुने, कपाल दुख्ने, ज्वरो आउने गरेको उपाध्यायले बताए ।