२ कार्तिक २०८३, सोमबार

एनआरएनमा महासचिव केसीको मनपरी, कर्मचारीलाई कार्यालय नआउन आदेश

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनका महासचिव डा.बद्री केसीले रुसमै बसीबसी संघको काठमाडौंस्थित कार्यालयमा मनोमानी गरिरहेको जानकारी प्राप्त भएको छ ।

भवन भट्टको अध्यक्षतामा एनआरएनको नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि) गठन गरेको दुई महिना पनि नबित्दै महासचिव केसीले कर्मचारी व्यवस्थापन नियमावलीमा जथाभावी परिवर्तन गरेका छन् ।

उनले जनवरी १, २०१८ देखि आफूलाई मन परेका कर्मचारीलाई ९५ प्रतिशतसम्म तलब वृद्धि गर्ने र केही कर्मचारीहरूको तलब घटाउने प्रस्ताव गरेका थिए ।

कर्मचारीहरूले त्यसको कडा विरोध गरेपछि उनले वरिष्ठ कर्मचारीहरूलाई सोमबारदेखि कार्यालय नआउन मौखिक आदेश दिएका छन् ।

एनआरएनको अहिले ७१ मुलुकमा शाखाहरू फैलिएको छ । संघमा रातदिन काम गरिरहेका कर्मचारीहरूलाई केसीले थर्काउने, धाकधम्की दिने काम गरिरहेको एक कर्मचारीले बताए ।

उनको त्यस्तो कदमको बेल्जीयममा बस्ने संघकी सचिव जानकी गुरुङलगायत अन्य पदाधिकारीहरूले पनि विरोध गरेका छन् ।

यसअघि शेष घलेले नेतृत्व गरेको कार्यकालमा पनि एनआरएन अमेरिकाको नेतृत्व चयन गर्ने विषयलाई लिएर महासचिव केसी विवादमा आएका थिए । पछि उनले सोही विषयमा माफी माग्नु परेको थियो ।

यसपटक उनलाई फेरि सोही पदमा जिताएर गल्ती भयो कि भन्ने पनि एनआरएनका कतिपय आइसिसि सदस्यहरुले टिप्पणी गरेका छन् ।