२८ आश्विन २०८३, बुधबार

नेपालमा फुटबलको नयाँ अध्याय सुरु हुन्छ: गणेश थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Thapa-Jhapa

लक्ष्मी काफ्ले

विर्तामोड । झापा जिल्ला फुटबल संघले अब ‘झापा जिल्ला फुटबल क्लव’ गठन गर्ने भएको छ । ‘राष्ट्रिय लिग फुटबल प्रतियोगितामा झापा जिल्लाको सहभागिता’ सम्बन्धी अन्तरक्रियामा संघले चाँडै क्लव गठन गर्ने जनाएको हो ।

मंगलबार संघले विर्तामोडमा आयोजना गरेको अन्तरक्रियामा अखिल नेपाल फुटबल संघका अध्यक्ष एवम् एशियाली फुटबल संघका उपाध्यक्ष गणेश थापाले जिल्लालाई क्लवको रुपमा छनौट गरेर वर्षभरि नै चल्ने ‘राष्ट्रिय लिग फुटबल’ सञ्चालन गर्न लागिएको बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष थापाले फुटबल खेल नेपालमा पनि व्यवसायिक बन्दै गएको र काठ्माण्डौंका सिमित क्लवहरुले मात्र राष्ट्रको प्रतिनिधित्व गरिरहेको अवस्थामा राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्नुपर्छ भनेर अघि बढेको बताए । उनले प्रतियोगिता सञ्चालन गर्न २५ देखि ३० करोडसम्म लाग्ने र प्रथम हुने टोलीलाई १ करोड रुपैयाँ पुरस्कार दिइने बताए । थापाका अनुसार प्रतियोगिता अन्तरगत हप्तामा दुई वटा खेल हेनेछन् । यसले नेपालमा फुटबलको नयाँ अध्याय सुरु हुने थापाको बुझाई छ ।

२१ जना सभासद् रहेको जिल्ला झापामा सभासदहरुले पनि सहयोग र हौसला दिने हो भने झापा लिग च्याम्पियन बन्न सक्ने थापाले बताए । उनले भने– ‘दर्शकले छातीमा ‘‘आई लभ झापा’’ लेखेर लिग हेरेको म हेर्न चाहन्छु ।’ तर लिग कहिले बाट सञ्चाल गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।

अन्तरक्रियामा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु आचार्य अग्नीले ९ लाख झापालीले ‘मेरो जिल्लाको टिम हा’े भनेर गर्व गर्न पाउने अवसर राष्ट्रिय लिगले जुटाउन लागेको बताए । फुटबलको स्तरलाई माथि उठाउन लिगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आचार्यको बुझाई छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा एन्फाका अध्यक्ष थापाले लिग सञ्चालन गर्न करोडौं लाग्ने भएकाले सहयोगको आवश्यकता पर्ने बताइरहँदा झापाका निर्माण व्यवसायी तथा समाजसेवी शेरबहादुर थापाले तत्काल ५१ हजार एक सय ५१ रुपैयाँ र प्रत्येक महिना २ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रियामा समाजसेवी हर्कलाल गिरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबम् पूर्वाञ्चल संयोजक गणेश पोखरेल, प्याव्सन झापाका अध्यक्ष मिलन ढुंगाना, सञ्चार उद्यमी एवम् वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष कुमार भट्टराई, कराँते प्रशिक्षक मदन उप्रेती, नेपाल अलैंची व्यवसायी महासंघका सचिव ओमकृष्ण विमली, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीला चिमरिया, सभासद भक्त खपाङ्गीलगायतले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा एन्फका उपमहासचिव किरण राई, केन्दीय सदस्यहरु रमेश रायामाझी र सुरेस शाह लगायतको उपस्थिति रहेको थियो ।

एन्फाका अध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यता तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भगिरथ आले ‘मामा’ र सञ्चालन महासचिव केशवराज दाहालले गरेका थिए ।